राजनीतिक खिचातानीका कारण लामो समयदेखि शिक्षक–कर्मचारीले तलब भत्ता पाउन नसक्दा यति बेला वडा कार्यालयदेखि नगरपालिकासम्मका सबै काम ठप्प बनेका छन् ।
काठमाडौँ । तलब भत्ता नपाएको भन्दै सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाका शिक्षक–कर्मचारीले पालिकामा ताला लगाएका छन् । आइतवारदेखि नगरपालिकाको कार्यालयमा शिक्षक–कर्मचारीले अनिश्चित कालीन तालाबन्दी गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि हालसम्म तलब भत्ता उपलब्ध नगराएको भन्दै आइतबार शिक्षक-कर्मचारीहरूले कार्यालयको मुख्य गेटमा ताला लगाएका हुन् । तलब भत्ताको माग गर्दै उनीहरूले कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।
नगरपालिका मातहतका कार्यालयमा काम गर्ने कुनै पनि कर्मचारीले गत साउनदेखि तलब सुविधा नपाएको बताइएको छ । नगर सभा बैठक बस्न नसकेका कारण यति बेला वडा कार्यालयदेखि नगरपालिकासम्मका सबै काम ठप्प बनेका छन् । काम गर्न आवश्यक बजेट नहुँदा कार्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको कर्मचारीहरूको गुनासो छ ।
राजनीतिक खिचातानीका कारण नगर सभा बस्न नसकेकाले शिक्षक-कर्मचारीले तलब पाउन नसकेको शिक्षक–कर्मचारीहरूको भनाइ छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसँग पटक–पटक मौखिक र लिखित रूपमा तलब भत्ताका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले प्रशासनलाई जानकारी दिए । दसैँ, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा पनि तलब भत्ता नपाउँदा शिक्षक र कर्मचारीहरूलाई परिवार पाल्न कठिन भएको उनको भनाई छ ।
शिक्षकहरूले गत कात्तिक ६ गते नगर प्रमुखलाई तलब भत्ताको मागसहित ज्ञापन बुझाउँदै ६ दिनको अल्टिमेटम दिएका थिए । तर, पालिकाले वास्ता नगरेपछि कात्तिक ११ गतेदेखि उनीहरू विद्यालय बन्द गरी धर्ना सुरु गरेका थिए । धर्ना पनि बेवास्ता भएपछि तालाबन्दीमा जान बाध्य भएको उनीहरूले बताएका छन् ।
तलब भत्ता नपाउँदा समस्या
तलब नपाएका कारण दैनिक गुजारा चलाउनै मुस्किल भएको वडा न ३ का वडा सचिव नवीन मोतेले प्रशासनसँग भने । लामो समयदेखि शिक्षक–कर्मचारीहरूले तलब नपाउँदा समस्या भएको उनले बताए । उनले भने, ‘यसअघि पनि बारम्बार नगरपालिकालाई तलब उपलब्ध गराउन आग्रह गरेका थियौँ, तर पालिकाले वास्ता नगरेका कारण तलब नआउँदासम्म पालिकाबाट हुने काम बन्द गर्न बाध्य भएका हौँ ।’
नगरपालिकाका जनप्रतिनिधिबिच आवश्यक समन्वय नहुँदा समस्या सिर्जना भएको उनको बुझाइ छ । नगरपालिकाको विभिन्न शाखा, वडा कार्यालयमा काम गर्न आवश्यक पर्ने आवश्यक सामग्रीसमेत नभएकाले बाध्य भएर कार्यालय बन्द गर्नुपरेको उनले बताए ।
नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी र वडा कार्यालयका कर्मचारीहरूले आर्थिक संकटमा परेको भन्दै आइतबारदेखि नै काम रोकेका छन् । जसका कारण नगरपालिका तथा वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि तलब नआउँदा बाहिरी जिल्लाबाट सरुवा भएर आएका कर्मचारी थप समस्यामा परेका छन् ।
यस्तै जन स्वास्थ्य निरीक्षक तथा पालिकाका स्वास्थ्य शाखा प्रमुख रामदेव यादव पनि पालिकाले समयमै बजेट विनियोजन गर्न नसक्दा पालिकाका काम गर्न समस्या भइरहेको बताउँछन् । पालिकाकै आन्तरिक विवादका कारण शिक्षक–कर्मचारी र सेवाग्राही मारमा परेको उनको भनाइ छ ।
के भन्छन् नगर प्रमुख ?
पालिकाका शिक्षक कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएर पालिकाका कामहरू सबै ठप्प पारिरहँदा नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझी भने पालिकाको आन्तरिक विवाद भन्दा पनि वडा कार्यालयले सिलिङ नपठाएकाले नगर सभा गर्न नसकिएको बताउँछन् । वडाले समयमै सिलिङ नपठाइदिँदा नगर सभा गर्न सकिएको छैन, माझीले भने ‘समयमै पालिकाका १४ वटा वडालाई सिलिङ पठाउन पत्राचार गरेता पनि अहिलेसम्म ४ वटा मात्र वडाले सिलिङ पठाएका छन् । अब सबै वडाले सिलिङ पठाएपछि नगर सभा गरेर शिक्षक कर्मचारी लगात पालिकाका अन्य समस्या समाधान गर्छौ ।’ उनले आन्दोलन गरिरहेका शिक्षक कर्मचारीहरूको माग सुनुवाइ गरी उहाँहरूकै सहमतिमा नगरपालिका कार्यालयमा लगाइएको ताला खोल्न लगाउने बताए ।
यता वडा न. ३ का वडा अध्यक्ष विजय कुमार यादव भने केही वडाले पालिकामा सिलिङ पठाइसकेको तर केहीको बाँकी रहेकाले नगर सभा नभएको बताउँछन् । तर नगर सभा नहुनुको मुख्य कारण नै राजनीति विवाद भएको अध्यक्ष यादवको भनाइ छ । उनका अनुसार पालिकाले आन्तरिक विवाद मिलाउन नसक्दा सेवा प्रवाहमा निकै समस्या भएको छ । वडामा कार्यरत कर्मचारी पनि काम ठप्प पारेर आन्दोलनमा गएका कारण झनै समस्या भएको उनले गुनासो गरे ।
पछिल्लो समय देशभरका कतिपय पालिकाहरूले आन्तरिक विवाद मिलाउन नसक्दा शिक्षक–कर्मचारीहरूले समयमा नै तलब भत्ता पाउन सकेका छैनन् । धेरै जसो स्थानीय तहहरूले शिक्षक–कर्मचारीहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिदिँदा समयमानै तलब भत्ता प्राप्त गर्ने अधिकारबाट शिक्षक–कर्मचारीहरू वञ्चित भएका छन् ।
यो घटनाले स्थानीय तहमा राजनीतिक खिचातानी र प्रशासनिक अव्यवस्थाका कारण कर्मचारीहरूको तलब भत्ता लगायतका आधारभूत सुविधामा कसरी प्रभाव पर्छ भन्ने देखाएको छ। नगरपालिकाका जनप्रतिनिधिहरू बीचको समन्वय अभाव र विवादले सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ, जसको परिणामस्वरूप शिक्षक-कर्मचारीहरू तालाबन्दी र धर्ना गर्न बाध्य भएका छन्। तलब नपाउँदा आन्तरिक आर्थिक संकट झेलिरहेका यी कर्मचारीहरूको समस्यालाई पालिकाले तत्काल समाधान गर्न जरुरी छ ।