काठमाडौँ । कर्मचारीहरूको सरुवा सामान्य र नियमित प्रक्रिया हो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निर्णयको सूची नै गुपचुप राख्दा कर्मचारीहरू हैरान बनेका छन् । पछिल्लो समय को कहाँ कति बेला सरुवा भए भन्ने जानकारी नै नहुने भएपछि अन्यौलता भएको कर्मचारीहरूले गुनासो गरेका छन् ।
यही बिचमा दर्जनौँ उपसचिव तथा अधिकृतहरूको सरुवा गरिए पनि मन्त्रालयले कुनै पनि सूची सार्वजनिक गरेको छैन । मन्त्री–सचिवहरूले गोप्य राख्नु भनेकै कारण कर्मचारीहरूले गुपचुपमै सरुवा फाइल उठाउने र सूची सदर गरेर दराजमा लुकाउने गरेको एक अधिकारीले जानकारी दिए ।
प्रत्येक जसो दिन कुनै न कुनै तहका कर्मचारीको सरुवा भई रहेको छ । यसरी हुने सरुवाहरूमा माथिल्लो तहका कर्मचारीको हकमा माथिको आदेशमा गरिएको छ भने कतिपय तल्लो तहका पदहरूमा माथिल्लो तहमा जानकारी नै नदिई तलैबाट काम तमामसमेत गरिएको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।
यसले कर्मचारीलाई थप आतङ्कित त बनाएको छ नै चलखेलसमेत बढाई रहेको मन्त्रालयकै अधिकारीहरूको भनाई छ ।
कतिपय कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको संवेदनशीलतासमेत नबुझेर सामान्यबाट सरुवा गरिदिँदा सेवा प्रवाहमा नै गम्भीर असर परेको छ भने प्रणाली बसाउनसमेत कठिनाई भएको बताइएको छ ।