काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजना अन्तगत बन्ने न्यू बुटवल–गोरखपुर १८ किलोमिटर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्झौता हस्ताक्षर भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले यो खण्डको निर्माण अति जरुरी रहेको भन्दै छुट्टै प्याकेजमा निर्माण गर्न दबाब दिएपछि एमसीएले छुट्टै बोलपत्र गरेको थियो ।
एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन पहिलो वर्ष पूरा गर्दा पहिलो पटक प्रसारण लाइनको ठेक्का लगाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल/भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३।६० लाख अमेरिकी डलरको सम्झौता भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसिए/नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे ।
अर्थ मन्त्रालयका सचिव एवं एमसिए/नेपाल सञ्चालक समितिका अध्यक्ष डा। रामप्रसाद घिमिरेले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउन यो प्रसारणलाइन महत्त्वपूर्ण हुने बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल १८ किमिको यो प्रसारण लाइनले ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने बताए । एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले यो प्रसारणलाइन निर्माणको सम्झौताले थप २९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने बताए ।
बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए-नेपालले तयारी गरिरहेको एमसीए नेपालको दाबी छ ।