काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका-२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा सहमति जुटेको हो ।
बाह्रबिसे नगरपालिका-५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका-३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।
२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका-३ र ४ स्थित पलाँतीका बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार ९राइट अफ वे०मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।
बुधबार भएको छलफलमा प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरूको उचित क्षतिपूर्ति उपलब्ध गराउने र आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व ९सिएसआर०अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।
यसैगरी आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, सहमति भएको छ । यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको छ ।







