काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले राजनीतिज्ञलाई दुःख दिन थालेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले राजनीतिको अपराधीकरण भइरहेको बताएका हुन् ।
‘अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेसन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईँहरूले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, धेरै ठाउँहरूमा अनावश्यक हिसाबले अख्तियारले, अनावश्यक हिसाबले निर्वाचन आयोगले, सीआईबीले दुःख दिइरहेको छ’ उनले भने ।
नेता कोइरालाले नेता र व्यापारीहरूलाई विभिन्न बहानामा दुःख दिने र दल फुटाइदिने जस्तो प्रवृत्ति देखिएको बताए । तर यो प्रवृत्ति धेरै नटिक्ने उनको भनाइ छ ।
‘दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोक्रेट्स र व्यापारी, व्यवसायीहरू एक ठाउँमा उभिइसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ’, उनले भने ।
नेता कोइरालाले काँग्रेसले सरकारमा जान हतार नगरेको जिकिर गरे । ‘हामी विपक्षमा छौँ, हामीले विपक्षको भूमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोसिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छन् अन्य दलहरू हामी छैनौँ’, उनले भने ।