काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले समानान्तर कमिटी बनाएको भन्दै सह-संयोजक नितेश पौडेलसहित तीन जनालाई निष्कासन गरेको छ ।
संयोजक कृष्णकुमार विश्वकर्माले सहसंयोजक पौडेल, कार्यालय सदस्यहरू रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेका छन् । संयोजक विश्वकर्माले मंगलबार प्रेस वक्तव्य जारी गरी समानान्तर कमिटी बनाएकाले संघको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।
‘विधानको व्यवस्था भए अनुरूप सहसंयोजक क. नितेश पौडेल, कार्यालय सदस्यद्वय क. रोशन थापा र क. फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ र पार्टीलाई यसको जानकारी पठाइसकिएको छ’, वक्तव्यमा उल्लेख छ ।
गत शनिबार राजधानीमा गरिएको एक भेलाबाट पौडेल संयोजक र फुर्वा लामा सहसंयोजक घोषणा भएका थिए । संयोजक विश्वकर्माले महाधिवेशन नगरेको भन्दै पौडेल पक्षले समानान्तर कमिटी घोषणा गरेको थियो ।
पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् भने विश्वकर्मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट नेता हुन् । उनीहरुबीच युवा संघ नेपालमा पहिलेबाटै विवाद हुँदै आएको छ ।
गत वर्ष भदौमा समेत समानान्तर भेलाबाट नेतृत्व घोषणाको तयारी भएको थियो । पार्टी उपमहासचिव डा. विजय पौडेलको उपस्थितिमा भएको भेलाबाट कृष्ण विश्वकर्मालाई संयोजक तोक्ने तयारी भएपछि दीपक मनाङेको उपस्थितिमा भएको अर्को भेलाबाट नितेश पौडेललाई संयोजक तोक्ने तयारी भएको थियो ।
तर पार्टीले हस्तक्षेप गरी विश्वकर्मालाई संयोजक र पौडेललाई सहसंयोजक तोकेको थियो ।