काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।
मनसुन सम्बन्धी विपद् जोखिम सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा सोमबार उपप्रधान तथा गृहमन्त्री लामिछानेले उक्त जानकारी दिएका हुन् । वर्षायाम सुरु भएसँगै मनसुनजन्य विपतमा जनताको उद्धार र राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी तीन दिनभित्र टास्क फोर्स बनाउने गृहमन्त्रीले जानकारी दिएका हुन् ।
टास्क फोर्सले तीन दिनभित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन लामिछानेले अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयारी गर्न आवश्यक रहेको उनको भनाइ थियो । टास्क फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।
बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले त्यसको व्यवस्था गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
गृहमन्त्री लामिछानेले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभूति हुने गरी काम गर्ने लक्ष्य रहेको बताए । उक्त लक्ष्य पूरा गर्नको लागि सम्बन्धित निकायहरूले अहिलेदेखि तयारी थाल्न जरुरी रहेको उनको भनाइ थियो ।