काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिष्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए ।
रजिष्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षामन्त्रीले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनौट गर्ने परिपाटी बनाउनुपर्ने बताउँदै आएपछि विज्ञापन गरिएको थियो ।
चैत १८ गते प्रकाशित विज्ञापन अनुसार ९ जनाले दरखास्त दिएकोमा अन्तिम मूल्यांकनका लागि ७ जना छनौटमा परेका थिए । उनीहरूको वैशाख ८ मा अन्तिम मूल्यांकन भएको थियो ।
मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ । उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन् ।