कारागारभित्र कैदी बन्दीको मृत्यु  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कारागारभित्र कैदी बन्दीको मृत्यु 


१८ चैत्र २०८०, आइतबार


इनरुवा । सुनसरीको झुम्का कारागारभित्र हिजो ४२ वर्षीय न्यायाधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका-४ मा डेरा गरी बस्दै आएका राईको कारागारभित्रै मृत्यु भएको हो । 

कारागारभित्रै कुटेर उनको हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्नुहुँदै घटनाको छानबिन गर्नुपर्ने मृतक न्यायाधीशका दाइ सुभास राईले माग गरे । न्यायाधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजू उर्मिला राईले दाबी गरिन् ।

कैदी बन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ । 

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस