भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनः निर्माण गर्न बजेटको व्यवस्था « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनः निर्माण गर्न बजेटको व्यवस्था


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो ।

अर्थमन्त्री वर्षमान पुन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक अधिकारीबीच भएको छलफलमा जाजरकोट भूकम्पले क्षतिग्रस्त भएका करिब सात सय विद्यालय भवन निर्माणका लागि बजेट कसरी व्यवस्था गर्ने भन्नेबारे छलफल भएको हो । सोमबार अर्थ मन्त्रालयमा दुवै मन्त्रालयका मन्त्रीसहितका अधिकारीकारबीच छलफल भएको थियो ।

मन्त्री श्रेष्ठसँगको छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्ने प्रक्रिया सुरु गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका थिए ।

जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट, रुकुमपश्चिम र बझाङमा ७ सयभन्दा बढी विद्यालय भवन क्षतिग्रस्त भएका थिए । जाजरकोटको बारेकोट गाउँपालिका-१ लामिडाँडा केन्द्रबिन्दु भएर कार्तिक १७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए ।

अर्थ र शिक्षामन्त्रीबीच आगामी आर्थिक वर्ष २०८१-०८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट विनियोजन नगर्ने सहमति पनि भएको छ । सरोकारवालाहरूबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको भन्दै उक्त कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस