शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यक : जनार्दन शर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यक : जनार्दन शर्मा


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन्। 

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी-ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ गएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए। 

“देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थितरताले जनतामा निराशा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्वक छ”, उनले भने, “राजनीतिक दलहरूले एजेन्डामा सहमति गर्नुपर्‍यो । राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन ।” 

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्दै उनले विकासको मोडिलाटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताए । “नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्‍यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्‍यो”, उनले भने, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।”

नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताए । “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दश वर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन् । यो खतराको विषय हो”, उनले भने, “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरुक हुन आवश्यक छ । जनतामा छिटो परिणाम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धि गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रूपान्तरण अभियानका रूपमा जनतालाई सुसूचित गर्न आवश्यक छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस