प्रधानमन्त्री कार्यालयद्वारा नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव संकलन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री कार्यालयद्वारा नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव संकलन सुरु


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्ष २०८१-०८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा विभिन्न क्षेत्रसँग छलफल तथा सुझाव संकलन सुरु गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुने गरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव संकलन गर्न थालेको हो ।

बिहीबार समष्टिगत आर्थिक, उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूसँग छलफल भएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय सहकारी महासंघ, गैर आवासीय नेपाली संघ, नेपाली महिला चेम्बर, नेपाल युवा उद्यमी परिषद् लगायतका निजी क्षेत्रसँग सम्बन्धित संस्थाहरूका प्रतिनिधिहरूले आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

त्यसैगरी सो कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, त्रिभुवन विश्वविद्यालय, कृषि सामाग्री कम्पनी लगायतका निकायका प्रतिनिधिहरूले पनि आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा बोल्ने प्रतिनिधि तथा विज्ञहरूले नयाँ नीति तथा कार्यक्रममा उद्योग दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने व्यवस्था गरिनुपर्ने, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने, विश्वविद्यालयहरूलाई अध्ययन अनुसन्धानको जिम्मा दिई सो बमोजिम मन्त्रालयहरूलाई कार्यान्वयन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने, वनको उपयोगलाई समृद्धिसँग जोड्ने गरी कार्यक्रम ल्याइनुपर्ने, कृषि क्षेत्रको अनुसन्धानमा पर्याप्त बजेट छुट्टाइनुपर्ने लगायतका सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस