महेन्द्रसिंह धोनीले छाडे चेन्नईको कप्तानी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महेन्द्रसिंह धोनीले छाडे चेन्नईको कप्तानी


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले नगर्ने भएका छन् ।

आईपीएलका सर्वाधिक सफल कप्तान धोनी यसवर्ष खेलाडीको रूपमा मात्रै खेल्ने भएका छन् । चेन्नईले युवा ओपनर ऋतुराज गायकवाडलाई नयाँ कप्तानमा नियुक्त गरेको छ । धोनीको यो अन्तिम आईपीएल सिजनसमेत हो ।

धोनीले २००८ देखि नै चेन्नईको कप्तानी गरेका थिए । उनको कप्तानीमा चेन्नईले १४ संस्करण खेल्दा ५ पटक उपाधि, ५ पटक फाइनलमा पराजित र १२ पटक प्लेअफ खेलेको थियो । चेन्नई सन् २०२० र २०२२ मा मात्रै पहिलो चरणबाट बाहिरिएको थियो । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो ।

धोनीले २०२२ मा पनि कप्तानी छाड्दै रवीन्द्र जडेजालाई दिएका थिए । तर जडेजाको कप्तानीमा कमजोर प्रदर्शनपछि धोनी पुनः कप्तानमा फर्किएका थिए । युवा ब्याटर ऋतुराजले भने सन् २०२० मा पहिलो पटक चेन्नई प्लेअफमा पुग्न नसकेपछि खेल्ने मौका पाएका थिए ।

त्यसपछि भने ऋतुराजले चेन्नईको जर्सीमा शानदार प्रदर्शन गर्दै आएका छन् । ५२ आईपीएल खेलमा उनले १ शतक र १४ अर्ध शतकसहित १७९७ रन बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस