यातायात कार्यालयहरूमै पार्किङको समस्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात कार्यालयहरूमै पार्किङको समस्या


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । यातायात कार्यालयहरूमा पार्किङको समस्या देखिएको छ । काठमाडौँका यातायात कार्यालयहरूले भाडाको घरबाट सेवा प्रवाह गरेका कारण सेवाग्राहीले पार्किङको समस्या भोग्नु परेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित ईलाका प्रशासन कार्यालयहरूले बुधवार गरेको जिल्लाका मालपोत, नापी र यातायात कार्यालयहरूको आकस्मिक निरीक्षणका क्रममा यातायात कार्यालयहरूमा पार्किङको समस्या देखिएको हो । जिल्लास्थित सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सेवाग्राहीहरूको चाप हुने १६ वटा कार्यालयहरू अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा मालपोत कार्यालयहरूमा १७ जना, नापी कार्यालयहरूमा १९ जना र यातायात कार्यालयहरूमा २७ जना कर्मचारीहरू अनुपस्थित रहेका थिए । मालपोत तथा नापी कार्यालयहरूमा कर्मचारीहरूले ड्रेस कोडको पालना गरेको देखिएता पनि यातायात कार्यालयहरूमा भने ६ जना कर्मचारीले ड्रेस कोड पालना नगरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

यातायात कार्यालयहरूमा कार्यालयको दरबन्दी संरचना बमोजिम पदपूर्ति हुन नसक्दा सेवा प्रवाहमा असर परेको पाइएको छ । मालपोत कार्यालयहरूमा मुद्दा फर्स्यौटको अवस्था कमजोर रहेको छ ।

अनुगमन गरिएका सबै कार्यालयहरूमा सूचना अधिकारीको व्यवस्था भएपनि सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली बमोजिम त्रैमासिक रूपमा गरिनुपर्ने स्वतः प्रकाशन भने अधिकांश कार्यालयहरूले सार्वजनिक नगरेको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालय, काठमाडौँबाट सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरू, ईलाका प्रशासन कार्यालय साँखुका प्रमुख, ईलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय कलङ्की, मालपोत कार्यालय साँखु, मालपोत कार्यालय चाबहिल, मालपोत कार्यालय टोखा, मालपोत कार्यालय मनमैजु, नापी कार्यालय डिल्लीबजार, नापी कार्यालय कलङ्की, नापी कार्यालय साँखु, नापी कार्यालय चाबहिल, नापी कार्यालय टोखा, नापी कार्यालय मनमैजु, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र चाबहिल, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र ठूलो भर्‍याङ, यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधारा र यातायात व्यवस्था कार्यालय सानो भर्‍याङको अनुगमन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस