काँग्रेसतिर लागेन भनेर रवि लामिछानेलाई बदनाम गर्न खोजे : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसतिर लागेन भनेर रवि लामिछानेलाई बदनाम गर्न खोजे : ओली


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसतिर लागेन भनेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न खोजेको बताएका छन् ।

प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले
लामिछानेको बचाउ गर्दै गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका हुन् ।

सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राजीनामा मागिरहेको बेलामा उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? काँग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

उनले काँग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी समेत गरेका छन् ।

ओलीले थपे, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि !’

काँग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।

उनले भने, ‘एउटा बोलाइको लागि गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो तर, काँग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिएको पनि सुनिएकै हो । काँग्रेसमा नैतिकताको कुनै अर्थ छैन । सत्ता पक्षमा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस