काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली काँग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको छ भन्दै काँग्रेसप्रति व्यङ्ग्य गरे ।
‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नुपर्या छ’, उपसभापति वाग्लेले भने ।
बुधबार प्रतिनिधि सभा बैठकमा नै काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई नो नट अगेन भन्नेहरूले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए ।
जवाफमा स्वर्णिमले गृहमन्त्री बन्दा रविसँग खोजेको नैतिकता प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि त’ उनले भने ।
।







