अर्थमन्त्री र एडीबी कन्ट्री डाइरेक्टरबीच छलफल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अर्थमन्त्री र एडीबी कन्ट्री डाइरेक्टरबीच छलफल


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) कन्ट्री डाइरेक्टर आर्नो कोशवा र अर्थमन्त्री वर्षमान पुनबीच विभिन्न आयोजनालाई गति दिनेबारे छलफल भएको छ ।

मंगलबार सिंहदरवारमा भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् । त्यस क्रममा उनले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजना सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।

विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास समेत कोशवाले व्यक्त गरे ।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडीबीले नेपालका महत्त्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा गरेका छन् ।

आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाएका छन् ।

२० वर्षपछि विश्व बैंक र एडीबीले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरेका छन् ।

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस