नेपालमा लगानी बढाउन र साझेदारीका लागि साउदीका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालमा लगानी बढाउन र साझेदारीका लागि साउदीका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा  लगानी साझेदारीका लागि आह्वान गरेका छन्।

आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरूलाई आग्रह गरेका हुन्।

लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरूलाई सहज वातावरण बनाउन नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए।

नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृर्षिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएको तर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका छन्।

नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। जलविद्युत उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरेका छन्।

पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरू भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस