खानेपानी सचिव आचार्यले जवाफ नदिएपछि सतर्कताको ताकेता, परराष्ट्र र अध्यागमनमा पत्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खानेपानी सचिव आचार्यले जवाफ नदिएपछि सतर्कताको ताकेता, परराष्ट्र र अध्यागमनमा पत्र


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय सतर्कता केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ दिएका छैनन् । पाँच जनाको निमन्त्रणमा ८ जनाको नेतृत्व गर्दै भारत पुगेका सचिव आचार्यको भ्रमणमा ‘कैफियत’ भेटिएसँगै केन्द्रले स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषद्को निर्णयबेगर कूटनीतिक राहदानी दुरुपयोग गरेर उनी अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भएका थिए । केन्द्रले सचिव आचार्यलाई तत्कालीन खानेपानी मन्त्री महिन्द्र यादवका छोरा सुनिल यादवलाई विदेश भ्रमणमा लगेको विषयमा पनि स्पष्टीकरण सोधेको थियो । 

सम्बन्धित समाचार : कर्मचारीको कोटामा मन्त्रीका छोरा विदेश शयर, सिंहदरवारमै लागू भएन सचिवको निर्णय

सतर्कता केन्द्रले गत फागुन ९ मा एक हप्ताको म्याद दिएर स्पष्टीकरण बुझाउन सचिव आचार्यलाई चिठी काटेको थियो । तर, उनले १५ दिन बिती सक्दा पनि जवाफ दिएका छैनन् । बुधवारसम्म जवाफ नआएपछि केन्द्रले बुधबार नै अर्को पत्र काट्दै ताकेता गरेको छ । सतर्कता केन्द्रका एक अधिकारीले भने, ‘सात दिन भित्र आवश्यक कागजात उपलब्ध गराउन भनेका थियौँ । तर, आएन । नआएपछि फेरि ताकेता गरेका छौँ । बुधबार नै अर्को पत्र काटेका छौँ ।’

खानेपानी सचिवका लागि केन्द्रले काटेको यो तेस्रो पत्र हो । यसअघि पठाएको जवाफ चित्त नबुझेपछि केन्द्रले सात दिनको म्याद दिएर फागुन ९ मा पत्र काटेको थियो । आचार्यलाई सोधिएको स्पष्टीकरणमा विदेश भ्रमण गर्नु अघि मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको विषयमा प्रस्ट पार्न भनिएको छ । यसैगरी विदेश यात्राका क्रममा प्रयोग गरेको राहदानी र हाजिरी विवरण पनि उपलब्ध गराउन भनिएको छ । 

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान हुँदै, राहदानी प्रयोग र हाजिरी माग

उनी गत माघ ४ देखि ६ गतेसम्म युएन ह्याबिट्याटको संयोजन तथा भारतको ओडिसा प्रान्तीय सरकारको आयोजनामा भएको ‘इन्क्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ नामको सरसफाइ तथा शहरी रूपान्तरण सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए । सचिवले जवाफ दिन ढिला गरेपछि सतर्कता केन्द्रले परराष्ट्र मन्त्रालयमार्फत युएन ह्याबिट्याटलाई पत्र लेखेको छ । केन्द्रले परराष्ट्रलाई कार्यक्रममा सहभागीको खर्च विवरण, प्रयोग भएका आवश्यक कागजात उपलब्ध गराउनका लागि सहयोग गर्न भनेको छ ।

यसैगरी अध्यागमन विभागलाई पनि केन्द्रले पत्र लेखेको छ । केन्द्रले खानेपानी सचिव कुन राहदानी प्रयोग गरेर कुन मितिमा भारत भ्रमणमा गएका थिए भन्ने बारे विवरण उपलब्ध गराइदिन अध्यागमनलाई पत्र लेखेको हो ।

खानेपानी सचिव आचार्य मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएको र उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको विषयमा यसअघि प्रशासनले समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार : खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान

सरकारको स्वीकृत बेगर विदेश गएको र कूटनीतिक राहदानी दुरुपयोग गरेको विषयमा सचिव आचार्यमाथि अनुसन्धान जारी छ भने कर्मचारीको कोटामा विदेश जाने तत्कालीन खानेपानी मन्त्रीका महेन्द्र राय यादवका स्वकीय सचिव(छोरा) सुनिल यादवलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

सम्बन्धित समाचार : सहसचिवको कोटामा विदेश जाने मन्त्रीका स्वकीय सचिव (छोरा)लाई कारबाही गर्न अख्तियारको पत्र

Tags :
प्रतिक्रिया दिनुहोस