खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान


१६ फाल्गुन २०८०, बुधबार


मन्त्रालयबाट घर बिदामा बसेका सचिव आचार्य कूटनीतिक राहदानी दुरुपयोग गरेर भारत पुगे । त्यहाँ सचिवकै हैसियतमा अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रममा सहभागी भए । 

काठमाडौँ । नेपाल सरकारका विशिष्ट श्रेणी(सचिव)का कर्मचारीले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको तथ्य फेला परेको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य घर बिदामा रहेका बेला कूटनीतिक राहदानी दुरुपयोग गरेर भारत पुगेका हुन् । 

नेपाल सरकारका बहालवाला सचिवले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको तथ्य भेटिएपछि उनीमाथि अनुसन्धानसमेत शुरु भएको छ । 

मन्त्रिपरिषद्को स्वीकृतबेगर नै सचिव आचार्य अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएको भेटिएपछि राष्ट्रिय सतर्कता केन्द्रले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनी गत माघ ४ देखि ६ गतेसम्म युएन ह्याबिट्याटको संयोजन तथा भारतको ओडिसा प्रान्तीय सरकारको आयोजनामा भएको ‘इन्क्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ नामको सरसफाइ तथा शहरी रूपान्तरण सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको भेटिएको छ । 

तर सरकारले उनलाई त्यहाँ पठाएको थिएन । उनले त्यहाँ जाने अनुमति पनि लिएका थिएनन् । बरु त्यो समय उनी घर बिदामा थिए । मन्त्रालयबाट घर बिदामा बसेका उनी भारत गएको भेटिएपछि यसबारे सोधखोज शुरु भएको थियो । 

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान हुँदै, राहदानी प्रयोग र हाजिरी माग  

खानेपानी मन्त्रालयको तर्फबाट कार्यक्रममा सहभागी एक वरिष्ठ कर्मचारीका अनुसार कार्यक्रममा सहभागी हुने टोलीमा सचिव आचार्यको नाम नै थिएन । तर उनी अचानक त्यो कार्यक्रममा पुगेका थिए । 

यो कार्यक्रमको संयोजनकर्ता, युएन ह्या्बिट्याटले पनि सचिव आचार्य कार्यक्रममा सहभागी भएको पुष्टि गरेको छ । युएन ह्याबिट्याटका एक अधिकारीले भने, ‘कार्यक्रममा छ जनाको नाम आएको थियो । नेपालको तर्फबाट सचिव नै आउनु भएको थियो ।’

सचिव आचार्य नेपालबाट गएको टोलीसँगै नगएर छुट्टै तरिकाले कार्यक्रममा पुगेका थिए । घर बिदा स्वीकृत गराएर बिदामा बसेका सचिव आचार्य उक्त कार्यक्रममा सहभागी भएपछि मन्त्रालयबाट गएका अधिकारीहरू नै आश्चर्यचकित बनेका थिए । 

गल्ती लुकाउन अर्को गल्ती
नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी(सचिव)हरूले राहदानी ऐन अनुसार नै कूटनीतिक राहदानी पाउने व्यवस्था छ । नेपाल सरकारबाट मनोनयन भएको सरकारी कामको सिलसिलामा विदेश जाँदा सरकारी अधिकारीले कूटनीतिक राहदानी नै प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

राहदानी नियमावली २०७७ अनुसार सरकारी काम वा विशेष कामको सिलसिलामा विदेश भ्रमण गर्ने पदाधिकारीले आफ्नो ओहोदा अनुसार जारी हुने राहदानी प्रयोग गर्नुपर्ने हुन्छ । सरकारले मनोनयन नगरेको र घर बिदामा रहेको कर्मचारीले कूटनीतिक राहदानी प्रयोग गर्न मिल्दैन । परराष्ट्र मन्त्रालयका सह प्रवक्ता ऋषिराज आर्चाय भन्छन्, ‘सरकारी राहदानी भनेको सरकारी कामको सिलसिलामा मात्रै प्रयोग गर्ने हो । कसैले व्यक्तिगत सिलसिलामा प्रयोग गर्न पाइँदैन ।’

सरकारले मनोनयन नगर्दा नगर्दै पनि सचिव आचार्य कार्यक्रममा सहभागी हुन भारत कसरी गए र कार्यक्रममा सचिवकै हैसियतमा कसरी सहभागी भए ? भन्ने विषय नै अनौठो छ । पूर्वमुख्य सचिव विमलप्रसाद कोइरालाका अनुसार सरकारले मनोनयन गरेका काममा सचिवहरू विदेश जान सक्छन् । तर, मुलुकको तर्फबाट भाग लिँदा मनोनीत हुनुपर्ने उनले बताए । कोइरालाले भने, ‘निजी भ्रमणमा विदेश जाँदा कूटनीतिक राहदानी प्रयोग गर्न मिल्दैन ।’

पूर्वगृहसचिव एवं लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनालीका अनुसार पनि सरकारको स्वीकृतिबेगर नेपाल सरकारको सचिव देश बाहिर जानै मिल्दैन । उनी भन्छन्, ‘यो गैर जिम्मेवार काम हो । मन्त्रालयको सचिव जस्तो मान्छे के कामका लागि कहाँ जाँदै छ भन्ने जानकारी गराउनु पर्छ ।’

उच्च सरकारी अधिकारीहरूका अनुसार खानेपानी सचिव आचार्यले गर्नै नहुने गल्ती मात्र गरेका छैनन्, उनले त्यो गल्ती ढाकछोप गर्न फेरि अर्को गल्ती गरेका छन् । भारतमा भएको कार्यक्रममा सहभागिताबारे सोधिएको प्रश्नमा सचिव आचार्यले आफू बिदामा रहेको र कुनै कार्यक्रममा सहभागी नभएको जिकिर गरे । उनले प्रशासनलाई भने, ‘म बिदामा थिएँ । बिदा लिएर पूर्वतिर गएको थिएँ ।’

उनले आफू भारत नगएको र कार्यक्रममा सहभागी नभएको जिकिर गरे पनि गत माघ ३ गते कूटनीतिक राहदानी प्रयोग गरेर उनी भिस्तारा एयरलाइन्समार्फत बिहान १०:४० बजेको उडानमा काठमाडौँबाट भारत गएको तथ्य प्रशासनले फेला पारेको छ । नेपाल सरकारद्वारा जारी कूटनीतिक राहदानी नं. ००३०८६१ को प्रयोग गर्दै भिस्तारा एयरको बिजनेश क्लासको सिट १डीमा बसेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली उडेका थिए ।

घर बिदा स्वीकृत गराएर बसेका सचिव आचार्य भ्रमण स्वीकृत नै नगराई भारत पुगेकोसमेत पुष्टि भएको छ । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले यसको पुष्टि गरेका छन् । मुख्य सचिव डा. अर्यालले भने, ‘उहाँको भ्रमण स्वीकृत भएको छैन, तर मसँग बिदा माग्नु भएको थियो । मैले बिदा स्वीकृत गरेको हुँ । बिदामा उहाँ कहाँ जानुभयो भन्नेबारे जानकारी छैन ।’

भारतमा भएको कार्यक्रममा सचिव आचार्यलाई पठाउन मन्त्रिपरिषद्को स्वीकृतिका लागि मन्त्रीस्तरीय निर्णय भए पनि मन्त्रिपरिषद्को निर्णय भएको नदेखिएको भन्दै सतर्कता केन्द्रले पत्र काटेको छ । केन्द्रले पाँच जनाको लागि आएको निमन्त्रणामा आठ जनाको नेतृत्व गर्दै उनी भारत पुगेको विषयमा थप स्पष्ट पार्न भनेको छ । तर, बुधवारसम्म यसबारे कुनै जवाफ नआएको सतर्कता केन्द्रले जनाएको छ । मागेको विवरण मन्त्रालयले नपठाएमा अध्यागमनबाटै विवरण मागेर अनुसन्धान गरिने केन्द्रका एक अधिकारीले जानकारी दिए ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ ले नेपाल सरकारका सचिवहरू वा सोभन्दा माथिका पदाधिकारीहरूलाई विदेशमा हुने गोष्ठी, अध्ययन भ्रमण, अवलोकन भ्रमण आदिमा पठाउँदा मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीको अनुसूची–१ (२५) मा भनिएको छ :

यसैगरी वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ मा नेपाल सरकारका मुख्य सचिव, सचिव वा विशिष्ट श्रेणीका अधिकृत वा सो सरहका पदाधिकारी विदेश भ्रमणमा जानु परे मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । निर्देशिकाको दफा ५ मा वैदेशिक भ्रमणको स्वीकृतिमा भनिएको छ:

हुन सक्छ जरिवाना र कैद
राहदानी ऐन २०७६ अनुसार जुन उद्देश्यका लागि राहदानी जारी गरिएको हो, सोही प्रयोजनको लागि प्रयोग गर्नु पर्नेछ । राहदानी नियमावली, २०७७ को दफा २० मा उल्लेखित राहदानीको प्रयोगमा भनिएको छ:

सो बाहेक अन्य उद्देश्यको लागि राहदानी प्रयोग गरेमा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । राहदानी ऐन, २०७६ को परिच्छेद–५ मा कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्थाको दफा २१ को घ मा जुन उद्देश्यको लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य उद्देश्यको लागि राहदानीको प्रयोग गरेमा कसुर गरेको मानिने उल्लेख छ । 

सोही परिच्छेदको दफा २२ को उपदफा १ मा सजाय सम्बन्धी व्यवस्था छ । 

राहदानी दुरुपयोगको यो प्रकरणमा प्रहरीले अनुसन्धान गर्छ । प्रहरीले अहिलेसम्म यो प्रकरणमा अनुसन्धान शुरु गरेको भने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस