जग्गा प्राप्त नहुँदै धावनमार्ग विस्तारका लागि कसरी आयो साढे ४ करोड ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जग्गा प्राप्त नहुँदै धावनमार्ग विस्तारका लागि कसरी आयो साढे ४ करोड !


२२ फाल्गुन २०८०, मंगलबार


जुम्ला । जुम्ला विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको व्यवस्था भई सकेको छैन । तर, जग्गा प्राप्त नहुँदै धावनमार्ग (रनवे) विस्तारका लागि बजेट छुट्टिइसकेको छ । 

जग्गा प्राप्त नहुँदै रनवे बढाउनका लागि कसरी बजेट आयो भन्नेमा जुम्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरू नै अलमलमा छन् । रनवे बढाउन ४ करोड ४२ लाख रुपैयाँ आएको हो । प्राधिकरण जुम्लाका अनुसार पहिले विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको व्यवस्था हुनुपर्ने हो र जग्गाको व्यवस्था भएपछि रनवे विस्तारको काम हुनुपर्ने हो । तर, त्यसको ठिक उपल्लो पहिले रनवे विस्तारका लागि बजेट आएको छ, रनवे विस्तारका लागि आवश्यक जग्गाको व्यवस्थापन नै भएको छैन ।

रनवे विस्तारका लागि जग्गा प्राप्ति भई नसकेकाले गत भदौमा आएको उक्त बजेट कार्यान्वयन गर्न नसकिने नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए । जग्गाको मुआब्जाका लागि बजेट आउन नसक्दा प्रक्रिया नै अघि बढ्न सकेको छैन । ६७० मिटर लम्बाइको विमानस्थललाई १०५० मिटरमा विस्तार गर्न १८ हजार ३ सय ८० रोपनी जग्गा आवश्यक पर्ने देखिन्छ । तर, अहिलेसम्म जग्गा प्राप्त भई सकेको छैन । मुआब्जा र रनवे विस्तारका लागि ५० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ । जग्गा अधिग्रहणका लागि अघिल्लो आर्थिक वर्षमा करिब ५० लाख र यो आर्थिक वर्षमा पनि सोही कै हाराहारीमा बजेट छुट्याइएको थियो ।

जग्गाको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रनवे निर्माणको काम नागरिक उड्डयन प्राधिकरणले गर्ने गर्दछन् । तर, मन्त्रालय र प्राधिकरण बिच तालमेल नहुँदा पहिलो कामको लागि भन्दा पछिल्लो कामको लागि पहिले बजेट विनियोजन भएको हो । यसले काम गर्ने सिलसिलामा सरकारी निकाय बिच तालमेल नभएको प्रस्ट हुन्छ । 

जग्गा प्राप्त नभई रनवे विस्तार कसरी हुन्छ ? भन्ने प्रश्नमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘रनवे विस्तारका लागि पैसा गए पनि त्यो खर्च भएको छैन । तत्कालै जग्गा प्राप्ति भयो भने अर्को वर्षसम्म कुर्न नपरोस् भन्नका लागि बजेटको व्यवस्था भएको हो ।’ जग्गा प्राप्त नभई उक्त रकम खर्च नहुने उनको भनाइ छ । जग्गा प्राप्त गर्नका लागि आवश्यक बजेट (प्रारम्भिक अनुमान करिब ५० करोड)का लागि पर्यटन मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्राचार भइसकेको निरौलाले जानकारी दिए । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा मंगलबार बसेको बैठकले विमानस्थल विस्तार गर्न आवश्यक जग्गाको मुआब्जाका लागि चाहिने रकम यकिन गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेसहित चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत, जिल्लास्थित सुरक्षा प्रमुख, वडाध्यक्ष, नापी र मालपोत कार्यालयका प्रतिनिधिलगायतको उपस्थितमा बसेको बैठकले जिल्ला प्रशासनमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणमा पत्र पठाउने निर्णय गरेको हो । प्रजिअ घिमिरेले भने, ‘जग्गा व्यवस्थापन नगरी रनवे निर्माणको काम अघि नबढ्ने भएकाले जग्गा प्राप्त गर्न र मुआब्जा दिनका लागि बजेटको व्यवस्थापन गर्न पत्र लेख्ने निर्णय गरेका हौँ ।’

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको पहलमा रनवे विस्तारका लागि बजेट छुट्टिएको हुन सक्ने अनुमान गरिएको छ । तर, उनीहरूले रनवे विस्तार भन्दा पहिले जग्गा प्राप्त गर्नु पर्छ भन्ने नबुझेका कारण यो समस्या आएको हो ।

सम्बन्धित समाचार : जुम्ला विमानस्थल विस्तार : जग्गा यकिनका लागि मालपोत र नापीलाई पत्र, उड्ने छैनन् नयाँ जहाज

Tags :
प्रतिक्रिया दिनुहोस