जुम्ला विमानस्थल विस्तार : जग्गा यकिनका लागि मालपोत र नापीलाई पत्र, उड्ने छैनन् नयाँ जहाज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुम्ला विमानस्थल विस्तार : जग्गा यकिनका लागि मालपोत र नापीलाई पत्र, उड्ने छैनन् नयाँ जहाज


१८ मंसिर २०८०, सोमबार


जुम्ला । जुम्ला विमानस्थल विस्तारका लागि नागरिक उड्डयन कार्यालय जुम्लाले प्रक्रिया अगाडी बढाएको छ । जग्गा अधिग्रहणका लागि मंसिर १० मा सार्वजनिक सूचना जारी गरेको कार्यालयले जग्गा यकिनका लागि आइतबार मालपोत कार्यालय र नापी कार्यालयलाई पत्राचार समेत गरेको छ ।

अबको एक सातामा प्रतिवेदन तयार गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरी काम भइरहेको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । अधिकारीले भने, ‘जग्गा एकिन गरेपछि मुआब्जा समिति गठन होला । समिति गठनपछि काम अघि बढ्ने छ ।’ 

उनका अनुसार अहिलेको ६ सय ७५ मिटर रहेको धावनमार्ग विस्तार गरेर १ हजार ५० मिटर बनाउने योजना छ । यसैगरी उत्तरतर्फ नयाँ टावर, नयाँ टर्मिनल, सुरक्षा आवास गृह, एयरलाइन्सहरूको कार्यालय बन्नेछन् ।

जग्गा अधिग्रहणको कार्य अघि बढे पनि यसका लागि बजेट छैन । बजेट व्यवस्थापन गरिदिने जिल्लाका सांसदहरूको आश्वासन पछि कार्यालयले काम अगाडी बढाएको हो । अधिकारीले भने, ‘जिल्लाका माननीयज्यूहरूले डकुमेन्टेशनको काम गर्नुस्, बाँकी बजेट व्यवस्थापन गर्ने काम हामी गछौं भन्नु भएको छ । त्यही आश्वासनका आधारमा काम अगाडी बढेको छ ।’

विमानस्थल सञ्चालनमा आएको दुई दशकपछि विस्तारका लागि जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको हो । विमानस्थल विस्तारका लागि १९३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । अधिग्रहण गर्न लागिएको जग्गामा घर टहराहरू नपर्ने खेती योग्य जमिन मात्र पर्ने कार्यालयले जनाएको छ । जग्गाको मुआब्जा मात्र ४८ करोड रुपैयाँ भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । विमानस्थल विस्तारको लागि चार वर्ष अघि नै डीपीआर बनेको थियो ।

उड्ने छैनन् नयाँ जहाज

करोडौँको लगानीमा विमानस्थल विस्तार भए पनि त्यहाँ नयाँ जहाज अवतरण गर्ने छैनन् । जुन योजनामा विमानस्थलको धावनमार्ग १ हजार ५० मिटरको बनाइँदै छ, त्यसका लागि नेपालमा एयरक्राफ्ट नै छैनन् । 

जुम्ला विमानस्थलमा १६ सिटे जहाज अवतरण हुने गरेका छन् । नेपालमा भएका ट्विनअटर र डोनियर जहाजका लागि अहिलेकै ६ सय ७५ मिटरको धावनमार्ग पर्याप्त छ । अर्कोतर्फ विस्तारपछि बन्ने १ हजार ५० मिटरको धावनमार्गमा नेपालमा भएका एटिआर ७२ ल्याण्ड गर्न सक्ने छैनन् । 

साना जहाजको लागि अहिलेकै धावनमार्ग पर्याप्त थियो, विस्तारपछि पनि ठुला जहाज अवतरण नहुने भएपछि विमानस्थल विस्तार किन त ? भन्ने प्रश्नमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘जुम्लामा जहाज दुर्घटना भएकै कारण त्यसलाई न्यूनीकरण गर्न विमानस्थल विस्तार गर्न लागिएको हो । सुरक्षित बनाउनका लागि विस्तार गर्न खोजिएको हो ।’ 

अहिले एकातर्फबाट मात्र जहाज अवतरण गर्ने गरेकोमा विमानस्थल विस्तार पछि दुवैतर्फबाट अवतरण गर्न मिल्ने उनले बताए । ठुला जहाज लैजानका लागि नभएर साना जहाज पनि सुरक्षित होउन् भन्नका लागि विमानस्थल विस्तार गर्न लागेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस