तरुण दलका सदस्य गिरीलाई गोली प्रहार गर्ने चार जना सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तरुण दलका सदस्य गिरीलाई गोली प्रहार गर्ने चार जना सार्वजनिक


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका-२ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका-४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् ।

घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका–४ स्थित गणेश होटेलमा बास बसेका थिए ।

फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जबाट सुर्खेत पुगेर गणेश होटलमा ३ जना सँगै बसेका थिए ।

एक जना शंकित व्यक्तिले प्रतिवादीहरूलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

गएराति विनोद गिरीको गाडीलाई प्रतिवादीहरूको मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका-१ स्थित गैरीचोकमा उनीमाथि १ राउण्ड गोली प्रहार गरेपश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने भारतीय नागरिक राजपूत, मोटरसाइकल चालक विक, भुल र होटलमा बस्ने व्यवस्थापन गर्ने गिरीलाई नियन्त्रण लिएर सार्वजनिक गरेको हो ।

घटनाका बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस