राष्ट्रपति पौडेलले भने-जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेलले भने-जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् ।

नेपाल जाइका अलमनाई एशोसियशन (जान)को ५०औँ वार्षिक समारोहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताए ।

“मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा पनि महत्त्वपूर्ण रहने छन्”, उनले भने।

राष्ट्रपति पौडेलले नेपाल र जापानबीच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मूलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियशनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । उनले जानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस