तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : योगेश भट्टराई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : योगेश भट्टराई


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ माग्दा नदिन हो भने विरोधका कार्यक्रमहरू यथावत रहने बताए । 

सदनमा विशेष समयको माग गर्दै उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

उनले भने, ‘तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले यसैबखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ दिनु भएनभने विरोध यथावत रहने कुरा पनि जानकारी गर्न चाहन्छु ।’ 

यस्तै उनले मिटरब्याजीहरुलाई ठग्ने अधिकांश अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरू भएको दाबी पनि गरे । उनले भने, ‘अधिकांश स्थानमा मिटरब्याजीका रूपमा जनता ठगिएका छन् । ठगी गर्ने अधिकांश गठबन्धनसँग नजिकका मान्छेहरू छन् । म यो कुरा दाबीका साथ भन्छु । उनीहरूमाथि कुनै कारबाही हुँदैन । नाटक मात्रै हुन्छ । यसबारेमा सरकार गम्भीर हुनुपर्छ ।’ 

सदनमा बालकुमारी घटनाको बारेमा ध्यानाकर्षण गर्दै आएका छौ । त्यो दिन आन्दोलनको अवस्था हुँदा हुँदै पनि मन्त्री जी त्यही बाटोबाट भिडलाई भड्काउने हिसाबले जानु भयो, मन्त्रीसँग सुरक्षाकर्मीहरू सुरक्षा व्यवस्था हुन्छ उनीहरूले मन्त्री आउनुभन्दा अगाडि बाटोको माहोल बुझ्नु पर्ने थियो । सबै जानकारी हुँदा हुँदै पनि मन्त्री त्यही बाटो परिस्थितिलाई उत्तेजित गर्ने एउटा काम भएको थियो । 

प्रधानमन्त्रीले फागुन ६ गतेको घटनालाई हत्या भनेर भन्नु भएको छ । यदि त्यो हत्या हो भने त्यो कसले गर्‍यो त, त्यहाँ रहेका सुरक्षाकर्मीबाट भएको हो यसकारण यो घटनामा सिङ्गो सरकार जिम्मेवार छ । यसको साथै यो घटनाको छानबिन गर्नको लागि समिति होइन आयोग नै गठन भएको छ । आयोगले नै मन्त्री दोषि छ भनेर भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बस्ने कुरा नैतिक हिसाबले हुँदै हुदैँन् ।

 प्रधानमन्त्रीले प्रहरीको गोलीले युवाहरूको हत्या भएको हो भनेर भनिसकेपछि गृहमन्त्री यसको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन । एउटा कुरा आयोगको प्रतिवेदन सदनमा टेबल हुनुपर्‍यो,छानबिनलाई निष्पक्ष रूपमा अगाडि बढाउनु पर्छ, आजको स्वास्थ्य मन्त्रीको राजीनामा चाहिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस