राष्ट्रसेवक सहकारीका समस्या समाधानका लागि आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रसेवक सहकारीका समस्या समाधानका लागि आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रसेवक सहकारी संस्था लिमिटेड हरूमा देखिएका समस्याहरूको समाधानका लागि आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित भएको छ ।

काठमाडौँमा सम्पन्न राष्ट्रसेवक सहकारी संस्था लि.हरूको पाँचौँ राष्ट्रिय सहकारी भेलाले राष्ट्रसेवक सहकारी संस्था लि.हरूको सञ्चालनमा देखिएका समस्या, सुशासन, वित्तीय विश्लेषण र पृष्ठपोषण गर्दै आगामी दिनमा अवलम्बन गर्ने नीतिको रूपमा सहकारी संस्थाहरूको सबलीकरण तथा आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित गरेको हो ।

राष्ट्रसेवक सहकारी संस्था लि.हरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न बचत वर्गीकरण, ऋण वर्गीकरण सहित वित्तीय तथा संस्थागत सुशासन र स्वः नियमनका मापदण्ड पारित गरिएको महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेलाले नेपाल निजामती कर्मचारी सङ्गठनको अभिभावकत्वमा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लि. हरूको अवस्था सन्तोषजनक रहेको, बचत फिर्ता तथा ऋण असुलीमा कुनै समस्या नरहेको र आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्न पारस्परिक सहयोगको आदान प्रदान गर्ने निर्णय गरेको छ ।

सम्पन्न पाँचौँ राष्ट्रिय सहकारी भेलाबाट पारित निष्कर्षको सन्देश सहित राष्ट्रसेवक सहकारी संस्थाहरूलाई थप सुदृढीकरण र सबलीकरण गर्न सबै सहकारीहरूमा अभियान सञ्चालन गर्ने महासचिव काफ्लेले जानकारी दिए । राष्ट्रसेवक सहकारी संस्था सञ्चालनमा देखिएका कानुनी जटिलता निराकरणको लागि आवश्यक पहल गर्ने पनि भेलाले प्रतिबद्धता जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस