अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । अफगानिस्तानविरुद्धको तीन खेलको टी-२० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भयो ।

डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोलीले १७ ओभरमा सबै विकेट गुमाएर ११५ रनमा समेटिन पुग्यो ।

अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि पाथुम निसान्का र कुसल मेन्डिसले तीव्र गतिमा रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे ।

चौथो ओभरमा ११ बलमा २५ रन बनाएका निसान्का आउट भएसँगै यो साझेदारी तोडिएको थियो  । यसैगरी मेन्डिसले १४ बलमा २३ रन बनाए । धनञ्जय डि सिल्भाले १४ रन बनाएर १० औं ओभरमा ८६ रनको स्कोरमा तेस्रो विकेटका रूपमा आउट भएका थिए ।

कप्तान वानिन्दु हसरङ्गाले सदिरा समराविक्रमासँग मिलेर ९ बलमा २२ रन बनाएर स्कोरलाई १०० भन्दा माथि पुर्‍याए । उनी टिमको स्कोर ११० भएका बेला आउट भएका थिए ।

चारिथ असालान्का मात्र ४ रन बनाएर आउट भए । त्यहाँबाट समरविक्रमलाई साथ दिन आएका एन्जेलो म्याथ्युजले छिटो रन बनाउने काम गरे । यी  दुईले स्कोर १८० भन्दा माथि पुर्‍याएका थिए । समरविक्रमले ५१ रनको इनिङ खेले । योसँगै म्याथ्युजले २२ बलमा ४२ रन बनाएर नटआउट रहे । अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई र मोहमद नावीले दुई दुई विकेट लिए ।

जवाफी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको इनिङ्स सुरुदेखि नै खस्कियो । ३१ रन बनाउँदा ५ विकेट गुमेको थियो ।

मोहम्मद नाबी र करिम जनताले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै स्कोरलाई ७० पुर्‍याएका थिए । नाबीले १७ बलमा २७ रनको इनिङ खेले । जनताले २३ बलमा २८ रनको योगदान दिए । तल्लो क्रमका ब्याटर पनि लामो समय टिक्न सकेनन् र जसका कारण तीन ओभर बाँकी रहँदा अफगानिस्तान अलआउट भयो ।

श्रीलंकाका लागि एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरंगा र माटिशा पाथिरानाले समान २-२ विकेट लिए । यी दुई सफलतासँगै हसरंगाले भने टी-२० मा १०० विकेटको आँकडा पनि पूरा गरेका छन् ।

पहिलो टी २० मा श्रीलंका ४ रनले विजयी भएको थियो भने अब अन्तिम टी २० बुधबार राति सवा सात बजे सुरु हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस