वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना छैन : मन्त्री महतो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना छैन : मन्त्री महतो


५ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना नभएको बताएका छन् । 

आज ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एक दिवसीय सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा वन्यजन्तु संरक्षण प्रतिबद्धता गरे पनि उनीहरूको संरक्षणको लागि ठोस योजना नभएको बताए । 

उनले भने, ‘यसैगरि हामीले धेरै कुराहरुमा प्रतिबद्धता गरेका छौं, अन्तर्राष्ट्रिय मञ्चहरूमा यति वर्षमा यति वन्यजन्तु संरक्षण गरेर बढाउँछौं भनेर तर वन्यजन्तु बढ्दै गयो भने यसलाई संरक्षण गर्न नेपाल सरकारको ठोस योजना र परियोजनाहरू के छ, भन्ने कुरा हामीले बिर्सिरहेका हुन्छौं ।’ 

यस्तै, उनले जनावरहरू बढेसँगै उनीहरूका लागि वासस्थानको अभाव भएको भन्दै यसको निचोड निकाल्नको लागि पनि सुझाव दिएका छन् । 

उनले भने, ‘जनावरहरू बढेको छ तर उनीहरूको लागि बस्ने ठाउँको अभाव भएको छ । हामीले निकुञ्जभित्र घाँसे मैदानहरू बनाए पनि उनीहरूको लागि ठाउँ प्रयाप्त भएन भने उनीहरू जाने कहाँ भन्दा बाहिर नै निस्किन्छन् । यसबारेमा केही निचोड निकालियो भन्ने सुझाव दिन चाहन्छु  ।’ 

अहिलेको समयमा सबैभन्दा ठूलो झगडा वन्यजन्तु र मानिस बीचमा रहेको पनि उनको भनाई छ । 

सोही कार्यक्रममा प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठले नेपालको पहिचानसँग जोडिएका नेपालको धरोहरलाई बचाइराख्न वातावरण संरक्षण त्यत्तिकै महत्त्वपूर्ण भएको बताए । 

उनले विकास र वातावरणबीच सन्तुलन गरी दिगो विकासको लक्ष्य हासिल चुनौती रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘नेपालको पहिचानसँग जोडिएका नेपालको धरोहरलाई बचाइराख्न वातावरण संरक्षण त्यत्तिकै महत्त्वपूर्ण छ । जलवायु परिवर्तनलाई रोक्न र त्यसका प्रभावहरूको न्यूनीकरण गर्न वातावरण संरक्षण त्यत्तिकै अपरिहार्य रहन्छ । 

विकास र वातावरणबीच सन्तुलन गरी दिगो विकासको लक्ष्य हासिल गर्न पछि चुनौतीहरू कायम नै छन् । अव्यवस्थित बसोबास प्राकृतिक श्रोतमाथिको अत्यधिक दोहन भइरहेको छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस