शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय सुनाइएको छ ।

धनगढीको दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडालको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीले उनका प्रेमी जगदिश कोट्टारीलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । अदालतका अनुसार मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका-६ सिरोली स्थायी घर भएकी राजेश्वरी धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् । उनी गत भदौ ६ गते धनगढी उपमहानगरपालिका-३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर अहिले आएर धोका दिएको भन्दै आत्महत्याको बाटो रोजेको उनले लेखेको सुसाइड नोटमा उल्लेख गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस