पार्किङ रोक्न भन्ने मन्त्रालयलाई बालेनको जवाफ- लाज त्यागेर पत्र लेख्नुको औचित्य के ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पार्किङ रोक्न भन्ने मन्त्रालयलाई बालेनको जवाफ- लाज त्यागेर पत्र लेख्नुको औचित्य के ?


२२ माघ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले धरहराको बेसमेन्टको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । निर्माणाधीन धरहराको बेसमेन्टमा समन्वय नै नगरी निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको भन्दै महानगरपालिकालाई सहरी विकास मन्त्रालयले ध्यानाकर्षण गराए पछि उनले यस्तो जवाफ दिएका हुन् । 

‘उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

उनले २०७८ वैशाख ११ गते शनिवार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भएको स्मरण गराएका छन् । ‘सोही उद्घाटनलाई काठमाडौँका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे’, बालेनले लेखेका छन्, ‘तर कहिदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ 

बालेनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न भनेका छन् । ‘सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ’, उनले भनेका छन्, ‘अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस