राजतन्त्र चाहानेहरु चुनावी मैदानमा आउनुहोस् : माधव नेपाल  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजतन्त्र चाहानेहरु चुनावी मैदानमा आउनुहोस् : माधव नेपाल 


२० माघ २०८०, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यता नभएको बताएका छन् ।

एकीकृत प्रगतिशील प्राध्यापक संगठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षा: हालका प्रचलन र उदीयमान चुनौतीहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । राजतन्त्र चाहिन्छ भन्नेहरूलाई प्रधानमन्त्री नै बन्ने चाहना हो भने चुनावको मैदानमा आउन आग्रह गरे ।

उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कदावी सम्भव छैन । त्यसले केही पार लाग्दैन । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिदैँन् । राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो । यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ । जनताकाबिचमा भिजे हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’

उनले देशमा निराशाजनक परिस्थिति र चर्को व्यक्तिवाद हाबी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

उनले भने, ‘हामीसँग गैरजिम्मेवार प्रवृत्ति बढ्दो छ । आफ्नो हित बाहेक समाज र राष्ट्रको हितको कुनै चिन्ता छैन । यति चर्को व्यक्तिवाद हाबी भएको छ कि त्यसको कुनै जवाफ छैन । यदि प्रत्येकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हुन नसक्ने केही छैन । अहिले हाम्रो देशको परिस्थिति निराश जनक छ । यसलाई चिर्नको लागि हामीले नै प्रयास गर्ने हो । अरु कसैले गरेर हुदैंन्, गर्न सक्दैनन् । प्रत्येक व्यक्तिले आफ्नो तहमा सोच्नुपर्छ । विकल्पको बारेमा सोचेका हौ तर पाएनौँ । त्यस कारण अब विकल्प हामीले दिने हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस