विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन


१८ माघ २०८०, बिहिबार


काठमाडौँ। सरकारले काठमाडौँ, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्न सरकारले अध्ययन समिति गठन गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।

हालै भारतीय अर्बपति गौतम अडानीको अडानी समूहले नेपालका विमानस्थलहरूको व्यवस्थापन गर्ने र थप लगानी विस्तार गर्ने अनौपचारिक प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस