कटन क्यान्डी उत्पादन र वितरणमा पालिकाद्वारा रोक, अटेर गरे ५ हजारदेखि २ लाखसम्म जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कटन क्यान्डी उत्पादन र वितरणमा पालिकाद्वारा रोक, अटेर गरे ५ हजारदेखि २ लाखसम्म जरिवाना


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । स्थानीय तहहरूले अखाद्य रङ्गयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएका छन् । साथै स्थानीय तहले बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी समेत दिएका छन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’को प्रयोग भएको पाइएकोले प्रयोग नगर्न आग्रह गरेसँगै स्थानीय तहहरूले पनि समर्थन गर्दै उत्पादन तथा बिक्री वितरणमा रोक लगाएका हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँसँगै काठमाडौँ महानगरपालिका, झापाको दमक नगरपालिकालगायत स्थानीय तहले सूचना जारी गरी अखाद्य रङ्गयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएका हुन् । विभागको आग्रह र केही स्थानीय तहले रोक लगाएपछि कटन क्यान्डीमा रङ्गको प्रयोग गर्न छोडिएको छ ।

काठमाडौँ महानगरपालिकाले जारी गरेको सूचनामा आफ्नो क्षेत्रभित्र कटन क्यान्डीको प्रयोग तथा बिक्री वितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकिएको छ । ‘अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न/नगराउन अनुरोध गर्दछौँ,’ महानगरको सूचनामा भनिएको छ, ‘यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ ।’

यस्तै दमक नगरपालिकाले जारी गरेको सूचनामा नगरपालिका क्षेत्रभित्र अनुमति लिएका र लेबल भएकाबाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उल्लेख छ । सूचनामा भनिएको छ, ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्गको उपस्थित पाइएको र सोको प्रयोगले बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकोले अनुमति लिएका, लेबल भएकाबाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा निरुत्साहन र प्रतिबन्ध गर्न÷गराउन तथा आवश्यक अनुगमन नियमन कार्यको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भद्रपुरबाट लेखी आएकोले दमक नगरपालिका क्षेत्रभित्र अनुमति लिएका र लेबल भएकाबाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरण प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ ।’

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’को प्रयोग भएको पाइएको र यसको प्रयोगले क्यान्सरजन्य रोग उत्पन्न गर्न सक्ने भन्दै अखाद्य रङ्गहरूको प्रयोगमा निषेध गरिएको जनाएको थियो । 

सम्बन्धित समाचार : खुल्ला रूपमा बिक्री गरिएका कटन क्यान्डी उपभोग नगर्न खाद्य विभागको आग्रह

बुधवार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग प्रयोग भएको रङिन कटन क्याण्डी नखान/नखुवाउन सूचित गरेको छ । 

कटन क्याण्डीका स्याम्पलहरूमा ‘रोडामाइन बी’ भेटिएपछि उत्पादन तथा विक्रिवितरण रोक्न मातहतका कार्यालयहरूलाई निर्देशन गरिएसँगै ती कार्यालयहरूबाट प्रशासन र स्थानीय तहसँगको समन्वयमा रोक लगाई रहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् । 

काठमाडौँ महानगरबाट प्राप्त कटन क्याण्डीको स्याम्पलहरूको नमुना जाँच विश्लेषण गर्दा खान अयोग्य रङ्ग ‘रोडामाइन बी’ भेटिएपश्चात् विभाग मातहतका देश भरीका कार्यालयहरूमा रङ्ग मिसाइएका कटन क्याण्डी उत्पादन र विक्री वितरणमा रोक लगाउने निर्देशन गरिएको हो’ महानिर्देशक वैद्यले भनिन् ‘यससँगै जिल्ला तथा डिभिजन र प्रदेश कार्यालयहरूले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा अनुगमनसँगै रङ्ग मिसाईका कटन क्याण्डीको उत्पादन र विक्री वितरणमा रोक लगाउने काम भएको छ’

Tags :
प्रतिक्रिया दिनुहोस