आलोचनापछि रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आलोचनापछि रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष


१६ माघ २०८०, मंगलबार


पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे ‘मेरो रुख म काट्छु’ अभियानबाट पछि हटेका छन् । बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान सुरु गर्न लागेका उनको चौतर्फी आलोचना भएपछि निर्णयबाट पछि हटेका हुन् ।

घर वरपरका रुख १० दिनभित्र आफैँ काट्न वडावासीका नाममा पाण्डेले सोमबार सूचना जारी गरेका थिए । उक्त सूचनालाई लिएर महानगरपालिकाका मेयर धनराज आचार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

वडाध्यक्षले रुख काट्ने सूचना प्रकाशित गरेसँगै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । केहीले उचित कदम भने पनि धेरैजसोले रुख काटेर बाँदर नियन्त्रण नहुने बरु अन्य कुनै उपाय खोज्नुपर्ने तर्क राखेका थिए ।

पछिल्लो समय महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको छ । महानगरपालिकाको रुख कटान सम्बन्धी पत्रमा वडा कार्यालयको रुख काट्ने सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरिएको छ ।


महानगरको पत्रपछि वडाध्यक्ष पाण्डेले मङ्गलवार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना रद्द भएको जानकारी गराएका छन् । ‘प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०८०÷१०÷१५ गते प्रकाशित बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने विषयक सूचना सम्बन्धमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त निर्देशन अनुसार गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार : १० दिन भित्र घर वरपरका सबै रुखहरू कटान गर्न वडा कार्यालयको उर्दी 

सम्बन्धित समाचार: रुख काट्ने अभियानलाई लिएर पोखराका जनप्रतिनिधि विभाजित

सम्बन्धित समाचार: पोखरामा रुख काट्ने निर्णय भएको छैन : मेयर आचार्य

Tags :
प्रतिक्रिया दिनुहोस