सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल नजिक, जितेन्द्र मुखियाले लिए पाँच विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल नजिक, जितेन्द्र मुखियाले लिए पाँच विकेट


१५ माघ २०८०, सोमबार


काठमाडौँ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै फाइनल नजिक पुगेको छ ।

छैटौँ जित निकाल्दै आर्मी १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि २६३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१.१ ओभरमा १६५ रनमा अल आउट भयो ।

सुदूरका लागि किरण ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर खडक बोहरा डक, कप्तान राजु रिजाल ६, नरेन भट्ट १८, प्रकाश पाण्डे ११, गजेन्द्र बोहरा १२, नारायण जोशी १३ र शेर मल्ल २४ रनमा आउट भए ।

आर्मीको जितमा जितेन्द्र मुखियाले ६.१ ओभरमा २ मेडनसहित १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । साहब आलम, कुशल मल्ल र बसिर अहमदले १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भएको थियो । आर्मीको जितमा कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट भए । एक समय ८८–६ को दयनीय अवस्थामा पुगेको आर्मीलाई खेलमा फर्काउन सातौँ विकेटका लागि कुशल र बसिरले ११३ रनको शतकीय साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर भोजराट भट्टको बलमा इमरान शेख ९ रनमै क्याच आउट भए । भोजराजकै बलमा सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की एज लागेर २ रनमा विकेटकिपर राजु रिजालबाट समातिन पुगेका थिए ।

पछिल्लो खेलमा कर्णालीसँग शतक हानेका कप्तान विनोद भण्डारी आजको खेलमा चल्न सकेनन् । भोजराजको बलमा मिडअनमा किरन ठगुन्नाबाट क्याच आउट हुनुअघि उनले मात्र २ रन बनाए । १० औँ ओभरको अन्तिम बलमा तीव्र गतिका बलर विकाश आग्रीले सन्तोष कार्कीलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले २८ बलमा ५ चौका हाने ।

सन्दीप रजाली ३१ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । बायाँ हाते स्पिनर नरेन साउदले रजालीलाई एलबीडब्लू आउट गरेका थिए । साउदको बलमा सिनियर टोलीका फिनिसर विवेक यादव साउदकै बलमा ४ रनमा बोल्ड आउट भएपछि आर्मी एक समय १६।२ ओभरमा ८८–६ को अवस्थामा पुगेको थियो ।

त्यसपछि भने बसिर र कुशल मल्लको साझेदारीमा आर्मी खेलमा फर्किएको थियो । तल्लोक्रममा साहब आलमले २५ बलमा २ छक्कासहित २१ रन बनाए । सोमपाल कामी ३४ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

सुदूरपश्चिमका तीव्र गतिका बलर भोजराज भट्टले ९।३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । स्पिनर नरेन साउदले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीको नाममा १ विकेट रह्यो ।

पुलिस ७ खेलमा १४ अंकका साथ फाइनलमा पुगी सकेको छ । आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । पराजित भएमा भने अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस