काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयको आकार घटाइएको छ । सोमबारदेखि सचिवालयबाट १३ जनालाई हटाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले जानकारी दिए ।
सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयले जनाएको छ । पाँच जना स्वकीय उपसचिव, एक जना स्वकीय शाखा अधिकृत, दुई जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई पत्रमार्फत जानकारी गराएको छ ।
बिदा हुनेमा स्वकीय उपसचिव नारायण प्रसाद ढुङ्गाना, रमेश प्रसाद गुरागाईँ, ओम कुमारी पौडेल, सावित्री कुमारी अधिकारी र कल बहादुर नाथ रहेका छन् । यसै गरी बिदा हुनेमा स्वकीय शाखा अधिकृत लाले कुमाल, प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली, कम्प्युटर सहायक वासुदेव शर्मा र खडक योगी, कार्यालय सहायक अविनाश वाइबा, हलुका सवारी चालक रमेश प्रसाद घिमिरे र पवित्र बहादुर शाही रहेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन सचिवालयलाई चुस्त बनाउने घोषणा गरेका थिए । एक वर्ष सन्तोषजनक काम नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने सोचमा पनि छन् ।