इटहरीमा जलन अस्पताल निर्माण हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इटहरीमा जलन अस्पताल निर्माण हुने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । सुनसरीको इटहरीमा जलन अस्पताल निर्माण हुने भएको छ। आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १ सय शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच बुधबार सम्झौता भएको छ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ बिघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ।

४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस