श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरी इपिएसबारे भ्रामक सूचना, कारबाही लागि प्रहरीमा पत्राचार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरी इपिएसबारे भ्रामक सूचना, कारबाही लागि प्रहरीमा पत्राचार


१६ पुस २०८०, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ ।

उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै प्रवक्ताको दस्तखत किर्ते गरी भ्रामक सूचना सार्वजनिक भएको हो ।

आफ्नो दस्तखत किर्ते गरेर भ्रामक सूचना सार्वजनिक भएको भन्दै प्रवक्ता पोखरेलले सामाजिक सञ्जालमा राखिने गलत सूचना बारे सजक हुन आग्रह गरेका छन् । इपिएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक भएको हो ।

‘मिति २०८०।०९।१५ मा यस मन्त्रालयका सहसचिव श्री राजिव पोखरेलको दस्तखत किर्ते गरी इपिएस कोरिया शाखाबाट उच्च अदालत पाटनको आदेश बमोजिम कोटा छुट्याई परीक्षा सञ्चालन गर्ने गरी आवश्यक निर्णय गरिइदिनका लागि एचआरडी सर्भिस अफ कोरियालाई पत्राचार गरिएको भनी सामाजिक सञ्जाल इपिएस टपिक एक्जाम २०२३ नेपालको पेजमा मन्त्रालयको प्रेस विज्ञप्ति राखिएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रेस विज्ञप्ति पूर्णतः असत्य र भ्रामक भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

मन्त्रालयले भ्रामक सूचना सार्वजनिक गर्ने व्यक्तिलाई आवश्यक कारबाही लागि प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ । सामाजिक सञ्जालमा राखिने गलत सूचनामा कुनै आधिकारिकता नहुने हुनाले यस्ता भ्रामक सूचना सम्बन्धमा समयमै सजग एवं सचेत हुन र मन्त्रालय तथा मातहतका निकायहरूको काम कारबाही सम्बन्धमा मन्त्रालय तथा अन्तर्गत निकायहरूको आधिकारिक वेबसाइट मार्फत मात्र जानकारी लिन सबैमा अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस