गभर्नर अधिकारीविरुद्धको मुद्दामा आज सुनुवाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गभर्नर अधिकारीविरुद्धको मुद्दामा आज सुनुवाइ


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरको लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, बिहीबार दायर उक्त रिटमा अधिकारीको योग्यता स्नातकोत्तर नभएको दाबी गर्दै तत्काल पदबाट हटाउन माग गरिएको छ । गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेन्ट रहेको र त्यो स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता नभएको पनि रिटमा उल्लेख छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यताका विषयमा यसअघि पनि सर्वोच्चमा रिट दायर भएको थियो । तर सर्वोच्चले रिट निवेदनको औचित्य सकिसकेको भन्दै थप आदेश जारी गर्नु नपर्ने फैसला गरेको थियो । त्यसयता सेलाएको यो विषय बिहीबार पुनः अदालत पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस