सिंहदरवारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सिंहदरवारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री


४ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्य योजना निर्माण गर्ने बताएका छन् । 

बुधबार दिउँसो सिंहदरवार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 

बैठकमा प्रधानमन्त्रीले भने, “आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैमा महत्त्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दै छ। मैले क्यालेन्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम गर्‍यौँ, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु।”

“म १० बजे नै कार्यालय आउँछु। नियमित रूपमा छलफल, समीक्षा र मूल्याङ्कन हुन्छ” प्रधानमन्त्रीले भने, “जनतालाई डेलिभरी दिने कुरा मुख्य हो। जति राम्रो डेलिभरी दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ। हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ।”

“देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि नै हो। कृषिलाई विकासको मूल आधार बनाउन सकेनौँ र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौँ भने समृद्धिको मूल काम गर्न सक्दैनौँ” प्रधानमन्त्रीले भने, “जलविद्युत र उद्योग पनि महत्त्वपूर्ण छन्। तर, उद्योग पनि कृषिमा आधारित भएर मात्र चल्छन्। तसर्थ, कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कुरालाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।”

“मलको कुरा धेरै भयो। मल सधैँ बाहिरबाट किनेर मात्र हुँदैन, हामी आफैले उत्पादन गर्नेतर्फ सोच्नुपर्छ। कम्पोस्ट मलको पनि अधिकतम उपयोग गर्नुपर्छ” प्रधानमन्त्रीले भने, “यस पटक विगतभन्दा भिन्न ढङ्गको बजेट, नयाँ ढङ्गले जाने सोच्दै छु। त्यसका लागि पुस महिनाभित्रै एउटा राम्रो अन्तरक्रिया गर्छौँ। नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्छौँ, तपाईँहरूले पनि त्यसरी नै सोचिराख्नुहोला।”

बैठकमा कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले कृषिका ७ प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए। मन्त्री भुसालले नदी प्रणालीलाई जोडेर सतही सिचाइको प्रबन्ध, उत्पादनशील बिउको प्रबन्ध र किसानहरूलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरणमा जोड, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । 

त्यसैगरि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी, स्ववासी, हरुवा, चरुवा लगायतका समस्या सम्बोधनमा सरकारले गम्भीर पहल लिइसकेको जानकारी गराइन् । 

बैठकमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले कृषि क्षेत्रको उत्पादकत्व बढाउन तथा भूमिको वैज्ञानिक व्यवस्थापन गर्न प्याकेज जरुरी भएकोमा जोड दिँदै राज्यका अनुसन्धानमुखी निकायहरू गम्भीर हुनुपर्ने बताए । 

त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले आर्थिक वर्ष २०८०।०८१ को पहिलो चौमासिक प्रगति सन्तोषजनक रहे पनि लक्ष्यमुखी नभएकोमा जोड दिएका थिए । 

त्यसैगरि कृषि सचिव डा. गोविन्द प्रसाद शर्माले रासायनिक मल खरिद र वितरणको काम यस वर्ष निकै प्रभावकारी भएको बताउँदै आगामी वर्षायामका लागि अहिलेदेखि नै व्यवस्थित तयारी गर्नुपर्नेमा जोड दिए । उनले अनुदानको मोडालिटीको मस्यौदा तयार भएको, एकीकृत कृषि ऐनको प्रारम्भिक मस्यौदा तयार भएको, उत्पादनमा आधारित अनुदानको प्रक्रिया अगाडि बढेको, कृषि वीमालाई प्रभावकारी बनाउन प्रयास गरिएको बताउँदै कृषिको उत्पादकत्व बढाउन नयाँ प्रविधिमा जोड गर्नुपर्ने बताए । 

बैठकमा सचिव डा. रेवतीरमण पौडेलले अण्डा र मासुमा नेपाल आत्मनिर्भर रहेको र दूधमा आत्मनिर्भर हुने प्रक्रियामा रहेको बताउँदै दुग्धजन्य उत्पादनको प्रभावकारी बढाउन तथा पशु चौपायाहरूमा देखिएका सङ्क्रामक रोग नियन्त्रणमा योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए । 

त्यस्तै अर्थ सचिव डा. कृष्णहरि पुष्करले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताउँदै स्रोतको सीमितता र राष्ट्रिय आवश्यकताबिच सन्तुलन गर्न कोसिस गरिएको बताए । 

त्यसैगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी दवाडीले मन्त्रालय जग्गा प्रशासनमा बढी केन्द्रित हुनुपरेको बताउँदै भूमि प्रशासनमा आधुनिकीकरण गर्न, सहकारी क्षेत्रका समस्या सम्बोधन गर्दै प्रभावकारी नियमनको काम र नतिजा दिन आफूहरू क्रियाशील रहेको बताए । 

बैठकमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले नयाँ र पुराना गरी करिब १५ लाख सेवाग्राहीले आयोगमा निवेदन दिएको बताउँदै कामको चाप र साधनस्रोतबीच देखिएको विरोधाभास सम्बोधन गर्न जरुरी रहेको बताए । 

बैठकको संश्लेषण गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई एक्ला एक्लै परिणाम दिन नसकिने बताउँदै सबैको एकीकृत मेहेनत र अनुभवका आधारमा परिणाम दिनुपर्ने बताए । 

सम्बन्धित समाचार : दुई मन्त्रालयका मन्त्री-सचिवसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

बैठकलाई निर्देशित गर्दै प्रधानमन्त्रीले भने, “हामीले नयाँ ढङ्गले काम गर्नुपर्छ। त्यसका लागि म आफैबाट सुरु गर्छु। म नियमित सिंहदरबार आउँछु। नजिकबाट छलफल गरेर समस्या समाधानको पहल गर्छु। कर्मचारीतन्त्र राम्रोसँग परिचालन गर्न सकियो भने केही समयमा नै राम्रो परिणाम दिन सक्ने देखेको छु। विश्वासका साथ अगाडि बढ्नुस्, अर्को वर्षको नतिजा अझ राम्रो हुनेछ।”

Tags :
प्रतिक्रिया दिनुहोस