दुई मन्त्रालयका मन्त्री-सचिवसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई मन्त्रालयका मन्त्री-सचिवसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’


४ पुस २०८०, बुधबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका मन्त्री-सचिवसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् । मन्त्रालयले अहिलेसम्म गरेका प्रगति र अहिलेको सन्दर्भमा देखिएका मुख्य-मुख्य समस्याहरूबारे ब्रिफिङ मन्त्री-सचिवहरुलाई छलफलका लागि बोलाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतबाट प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयगत छलफलका क्रममा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री-सचिवहरूसँग छलफल हुँदैछ । 

छलफलका लागि कृषि तथा पशुपन्छी विकासबाट मन्त्री डा. बेदु राम भुसालसहित सचिवद्वय डा. गोविन्द प्रसाद शर्मा र डा. रेवती रमण पौडेल जाँदैछन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मन्त्री रन्जिता श्रेष्ठ चौधरी र सचिव गोकर्णमणि दुवाडी जाँदैछन् । 

पटक पटकका सामूहिक निर्देशन पछि पनि अपेक्षाकृत प्रगति हासिल हुन नसकेपछि छुट्टाछुट्टै रूपमा बोलाएर समस्याहरू बुझ्ने र तत्काल समाधानका लागि पहल गर्ने हेतुले प्रधानमन्त्रीले विषयगत रूपमा मन्त्रालयहरूसँग छुट्टाछुट्टै रूपमा छलफल गर्न लागेको एक सचिवले बताएका छन् । 

पछिल्लो समय मन्त्री तथा सचिवहरू निर्णय गर्न नै डराइरहेका छन् । जसका कारण लक्षित प्रगति हासिल गर्न सरकारलाई कठिन हुँदै गएको छ । विशेष गरी सचिवद्वय कृष्ण बहादुर राउत र मधु कुमार मरासिनीको घटनापछि कर्मचारी हच्किएको अवस्था छ, जुन मनोबल उकास्न कर्मचारीलाई महसुस हुने गरी कतैबाट प्रयत्न नहुँदा निर्णयहरूको संख्या मात्रै घट्दो छैन, पन्छिने र सकेसम्म कुनै पनि प्रकारको आफ्नो संलग्नता नहोस् अर्थात् कलम चोब्न नपरोस् भन्ने भाव कर्मचारीमा पैदा भएको देखिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस