सिम्रौनगढका हाकिमले सोफामुनि लुकेर ज्यान जोगाए, भन्छन्- मार्ने नियत रहेछ, भाग्यले बाँचे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिम्रौनगढका हाकिमले सोफामुनि लुकेर ज्यान जोगाए, भन्छन्- मार्ने नियत रहेछ, भाग्यले बाँचे


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । राजनीतिक विवादको अखडा बनेको बाराको सिम्रौनगढ नगरपालिका बुधवार दिउँसो रणभूमिमा परिणत भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  दिएको अख्तियारी लिएर हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्र नगरपालिका प्रवेश गरे लगतै कार्यालय परिसर रणभूमि बनेको हो ।

नगरप्रमुख किशाेरी साह कलवार र प्रशासकीय अधिकृत दिउँसो करिब साढे एक बजे नगरपालिका पुगेको थिए । उनीहरू पुगे लगत्तै असन्तुष्टि जनप्रतिनिधिहरू र आन्दोलनरत कर्मचारीहरूले आक्रमण गरेका हुन् । आक्रमणबाट नगरप्रमुखको गाडी ध्वस्त भएको छ भने कार्यालयमा पनि क्षति पुगेको छ । हाजिर हुन पुगेका प्रशासकीय अधिकृत मिश्रले सोफामुनि लुकेर ज्यान जोगाएको बताए ।

पचरौता नगरपालिकाको दरबन्दीमा रहेका मिश्रलाई मंसिर २२ मा मन्त्रालयले सिम्रौनगढ नगरपालिकाको पनि जिम्मेवारी दिएको थियो । मन्त्रालयले दिएको जिम्मेवारी अनुसार उनी आज सिम्रौनगढ पुगेका थिए । ‘म हिजो मात्र काठमाडौँबाट आएको हुँ । तलब नपाएका कर्मचारीलाई तलब मात्र भए पनि खुवाउन अख्तियारी लिएर आएका थिए,’ प्रमुख प्रशासकीय अधिकृत मिश्रले भने, ‘वडाध्यक्षहरूसँग फोन भएको थियो । आन्दोलनरत कर्मचारी, असन्तुष्ट जनप्रतिनिधिसँग छलफल गर्ने आजका लागि तय भएको थियो ।’

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतको विषयमा भएको झडपमा एकको मृत्यु

आज ११ बजेका लागि बैठक बस्ने तय भए पनि व्यस्तताका कारण करिब साढे १ बजे कार्यालय पुगेको उनले बताए । ‘करिब साढे एक बजे मेयर साबकै गाडीमा नगरपालिका पुगेका थियौँ । कार्यालय प्रवेश गर्ने बित्तिकै आक्रमण भयो,’ उनले भने, ‘वातावरण सहज बनाउने मेरो सोच थियो । उहाँहरूको मार्ने नियत रहेछ, भाग्यले बच्यौँ । सानो कोठामा ११ जनाले ज्यान जोगायौँ । सोफामुनि लुकेर ज्यान जोगाएको अवस्था हो ।’ नगरप्रमुख कलवारले आफू जिल्ला प्रशासन कार्यालयमा रहेको प्रतिक्रिया दिए ।

झडपमा एकको मृत्यु, १० घाइते
सिम्रौनगढ नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । असन्तुष्ट पक्ष र प्रहरीबिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गर्नु परेको थियो । सोही क्रममा गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ बस्ने लक्ष्मी मुखिया रहेको प्रजिअ सापकोटाले बताए ।

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमाथि तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले ३५ राउण्ड अश्रु ग्यास र हवाई फायर गरेको थियो ।  प्रहरीले हवाई फायरका क्रममा गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि नारायणी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याएका मुखियालाई डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार झडपमा परि १० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनाको गम्भीर अवस्था गम्भीर छ ।

राजनीतिक विवादको अखडा
राजनीतिक विवादका कारण नगरपालिकाको बजेट पास हुन सकेको छैन । बजेट पास नभएका कारण कर्मचारीहरूले लामो समयदेखि तलब पाएका छैनन् । तलब नपाएका कारण कर्मचारीहरू आन्दोलनमा छन् । नगरप्रमुखले एकलौटी गर्न खोजेको भन्दै उपप्रमुखसहितका वडाध्यक्षहरूले पनि असन्तुष्टि जनाइरहेका छन् । पालिकाका  उपप्रमुख नजमु शेहरसहित आठ वटा वडाका वडाध्यक्षहरू विपक्षमा छन् ।

सम्बन्धित समाचार : सिम्रौनगढ झण्डै दुई महिनादेखि ठप्प : नगर सभाको वैधानिकतालाई लिएर आरोप प्रत्यारोप

केही दिनअघि नगरप्रमुख कलवारले बजेट पास गराएका थिए । तर, त्यसलाई अन्य जनप्रतिनिधिले मान्यता दिएका छैनन् । सोही कारण पालिकामा तालाबन्दी गरेर आन्दोलन भइरहेको छ ।

बुधवार नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत लिएर जाँदा विभिन्न माग राखेर आन्दोलन गरिरहेका असन्तुष्टि पक्षले एकलौटी रूपमा अघि बढेका नगरप्रमुख प्रशासकीय अधिकृतसँग मिलेर थप मनोमानी गर्न सक्ने भन्दै आक्रमणमा उत्रेका हुन् । 

घटनापछि प्रहरीले उपप्रमुखका श्रीमानसहित केही जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । थप सुरक्षाकर्मी परिचालनसँगै प्रशासनले स्थिति सामान्य बनाएको छ । 

सामान्य प्रशासनको भूमिका प्रभावकारी हुन जरुरी
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउँदै आएको छ । पछिल्लो समय खटनपटनमा राजनीतिक र प्रशासनिक नेतृत्वबिच देखिने कतिपय असमाञ्जस्यताका कारण थप समस्या निम्तिएको जनप्रतिनिधिहरू बताउँदै आएका छन् । सबैभन्दा प्रभावकारी र नेतृत्वदायी भूमिका रहनु पर्ने सामान्य केही समययता कमजोर बन्दै गएका कारण कर्मचारी व्यवस्थापनमा कठिनाई उत्पन्न हुने गरेको कर्मचारीहरूले बताउँदै आएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिदेखि खटाइने कर्मचारीहरूसँग समन्वय गर्ने जिम्मा पनि संघीय मामिलाकै भएकोले सरुवा खेतीतिर मात्रै ध्यान दिनु भन्दा देखिएका समस्या समाधानतिर लाग्न जरुरी छ । राजनीतिक नेतृत्वले जनप्रतिनिधिहरूलाई र प्रशासनिक नेतृत्वले कर्मचारीहरूलाई एकापसमा समन्वय गराई अघि बढ्नु पर्नेमा त्यसो हुन सकिरहेको देखिँदैन । यसतर्फ मुख्यसचिव र प्रधानमन्त्री स्वयंले पनि बिचार पुर्‍याउन जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस