राप्रपाको पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरलाई उच्च अदालतको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाको पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरलाई उच्च अदालतको आदेश


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयको भवन नभत्काउन काठमाडौँ महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले भवन नभत्काउन आदेश दिएको हो । उसले प्रक्रिया पुर्‍याएर नक्सा पासका लागि निवेदन परेमा ‘कानुन बमोजिम गर्नु’ भनी आदेश दिएको हो । 

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले गत साउन १२ गते भवन भत्काउन माइकिङ गरेको थियो । त्यसको तीन दिनपछि महानगरपालिकाको टोली डोजर लिएर पुगेको थियो ।

त्यतिबेला राप्रपाको कार्यकर्ता पनि प्रतिकार गर्ने उद्देश्यसहित भेला भएका थिए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा त्यस दिन काठमाडौँ महानगरपालिकाको टोली डोजर नलगाई फिर्ता भएको थियो ।

त्यसपछि राप्रपालाई जग्गादान गर्ने जग्गादाता कल्याणी राजभण्डारी र प्रभा चापागाईँले आफ्नो जग्गामा बनेको भवन नभत्काउन माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले भवन नभत्काउन आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस