‘चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजानु हुँदैन’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

‘चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजानु हुँदैन’


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरूलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छन् । बुधबार काँग्रेसको शेखर-गगन पक्षको भेलामा उनले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीले मापदण्ड बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभा चुनावमा काँग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ उम्मेदवार बन्ने चर्चा छ । उनीहरूप्रति लक्षित गर्दै घिमिरेले चुनाव हारेकाहरूलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका हुन् । गत वर्ष भएको आम निर्वाचनमा सिटौला झापा-३ मा पराजित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिको उम्मेदवार सूचीमा भए पनि सांसद चयन हुन सकेका थिएनन् ।

नेता घिमिरेले कोशीका मुख्यमन्त्रीले दुई महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकामा आपत्ति जनाए । शेखर पक्षकै नेता कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीले पार्टीको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री भएका पार्टीकै नेताहरूलाई चित्त नबुझेको बताएका थिए । उनले पार्टीका महामन्त्रीहरूमा परिपक्वता नदेखिएको पनि टिप्पणी गरेका थिए ।

बुधबार शेखर गगन पक्षको भेलामा नेता घिमिरेले मुख्यमन्त्रीले दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने तर महामन्त्रीबारे टिप्पणी गर्न नसुहाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस