‘भ्रष्टाचारका मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’ : मुख्यमन्त्री जम्कट्टेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘भ्रष्टाचारका मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’ : मुख्यमन्त्री जम्कट्टेल


२३ मंसिर २०८०, शनिबार


हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मुख्यमन्त्री कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सो कुरा बताएका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । अख्तियारले झुट्टा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने समय भएको बताउँदै सर्वप्रथम राजनीतिक नेतृत्व निष्पक्ष र पारदर्शी हुनुपर्ने र त्यसपछि कर्मचारी प्रशासनले पनि त्यस्ता काममा राजनीतिक नेतृत्वलाई उक्साउन नहुने मुख्यमन्त्री जम्कट्टेलको भनाई थियो । एकले अर्कालाई सिध्याउने हतियारबाट समयमै सजग रहनुपर्नेमामेत जम्कट्टेलको जोड थियो ।

संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारले चासो बढाएर झन्झट उत्पन्न गराएको बताउँदै उनले एउटै उजुरीमा झुलिरहनुपर्ने समस्याले सरकारी कामकाजमा समस्या पारेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रमुख नरहरि घिमिरेले कार्यालयले गरेका सुशासनका प्रगति विवरणका कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतिक दबाबमा नपरी निष्पक्ष ढङ्गबाट सुशासन प्रवर्द्धन हुने गरी काम गर्नुपर्नेमा जोड दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस