काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुबई भ्रमणका कारण केही यात्रु छुटेको प्रति नेपाल एयरलाइन्सले क्षमायाचना गरेको छ । बुधबारको काठमाडौँ–दुबई उडान नं. आरए टुटुनाइनको नियमित उडानमा छुट हुन गएका यात्रुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाएको एयरलाइन्सले जनाएको छ ।
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन जाने क्रममा नेपाल एयरलाइन्सले समय अगाडि सार्दा केही यात्रु छुटेका थिए । प्रधानमन्त्रीको भ्रमणका कारण बुधबार राति साढे ११ बजेको नियमित उडान सेड्युल परिवर्तन गरी राति साढे ९ बजे सारिएको थियो । नियमित उडानका लागि टिकट बुकिङ गरेका यात्रु छुटेका थिए ।
एयरलाइन्सले बिहीवार विज्ञप्ति निकालेर यात्रुहरूको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सी मार्फत सेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रु मध्ये केही यात्रुहरु उडानमा छुट हुन गएको जनाएको हो । कति यात्रु छुटेको भन्नेबारे एयरलाइन्सले केही खुलाएको छैन । स्रोतका अनुसार ३१ जना यात्रु छुटेका थिए ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरण गर्न के के गरियो, जिम्मेवारी निर्वाह भयो भएन भनी आन्तरिक रूपमा छानविन गरी सम्बन्धीतलाई आवश्यक कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिनु भएको छ ।’
