कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने


९ मंसिर २०८०, शनिबार


विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेश सभामा पेस गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री केदार कार्कीले यो जानकारी दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइने जनाइएको छ । बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको भन्दा ५० करोड बढीको बजेट मुख्यमन्त्री कार्कीले पेस गरेका छन् । बजेटमा उल्लेख भएअनुसार धुलो दूध र घिउ निर्यातमा अनुदान दिइने भएको छ । 

यस्तै, सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जङ्गल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, तमोर नदीको पानी धरान ल्याउने लगायत योजना बजेटमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्कीले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस