बुटवल उपमहानगर दुई सातादेखि प्रशासनिक नेतृत्व विहीन, मेयरको कार्यशैलीले समस्या « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बुटवल उपमहानगर दुई सातादेखि प्रशासनिक नेतृत्व विहीन, मेयरको कार्यशैलीले समस्या


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको टसलको चर्चा अझै सेलाएको छैन । दिनवित्दै जाँदा नगरप्रमुख खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालबीच के विषयमा टसल थियो भन्ने कौतुहलता झन् बढेको छ ।

पाण्डेयसँगको टसलपछि भुसाल हाजिर भएको ४४ दिनमै कार्तिक २१ मा उपमहानगरपालिका छाडेर काठमाडौँ आए । पाण्डेयको रोजाइमै गएका भुसालको बसाई बुटवलमा एक महिनामात्र रह्यो । भुसाल अनावश्यक दबाब खेप्न नसकेर बाहिरिएका हुन् ।

कर्मचारीले ऐन, कानुन र कार्यविधि अनुसार काम गर्ने हो । तर, बुटवल उपमहानगरपालिकामा नगरप्रमुखको मनमा के लाग्छ, त्यहीँ आधारमा मौखिक आदेशमै काम पर्ने बाध्यता थियो । एक कर्मचारीले भने, ‘गैरकानुनी काम गर्न दबाब दिने उहाँको स्वभाव नै हो ।’

यहीँ स्वभावका कारण २०७९ साउनदेखि १६ महिना बुटवलमा बिताएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले पनि सरुवा लिएका थिए । कानूनले गर्न नमिल्ने काममा दबाब आउन थालेपछि पन्थी सरुवा मागेर काठमाडौँको गोकर्णेश्वर नगरपालिका आए ।

नगरप्रमुख र हाकिम बिचको टसल बुटवलमा नौलो होइन । स्रोतका अनुसार उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पन्थीको ६ पटकसम्म सरुवा भएको थियो । डेढ महिनासम्म प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच बोलचाल नै बन्द थियो ।

पन्थीलाई पनि प्रमुखले दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गर्न दबाब दिने गरेका थिए । भुसालमाथि पनि त्यहीँ दबाब आएका कारण उनी विना जानकारी हिँडेको स्रोतले बतायो । कार्यालय सहयोगी, सवारी चालक र विभिन्न प्राविधिकहरू छनौट प्रतिस्पर्धाका आधारमा राख्नुपर्छ भन्दा प्रमुखले सिधै राख्न भुसाललाई दबाब दिएका थिए । करारका १० जना कर्मचारी हटाइएको छ ।

कार्तिक २२ को कार्यपालिका बैठकमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत बिचको टसलको बारेमा चर्चा पनि भएको थियो । उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष गुरुप्रसाद पंगेनीले कार्यपालिकाको बैठकमा प्रमुख र प्रशासकीय अधिकृत बिच के कुरामा समस्या भएको हो? भनेर बारेमा कुरा उठाएको जानकारी दिए । उनले भने, ‘व्यक्तिगत रूपमा उहाँहरू बिच के विवाद थियो, थाहा हुने कुरा भएन, तर समस्या बल्झाइ राख्नु हुन्न स्पष्ट पार्नु पर्छ ।’

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएको उनले बताए । ‘मेयर सापको बानी कस्तो छ भने आफूले भनेको भएन भने रिसाउने खालको हुनुहुन्छ,’ उनले भने, ‘कार्यपालिका बैठकमा हामीले समस्या उठाउँदा उहाँ त्यति सहज रूपमा प्रस्तुत हुनुहुन्न ।’

उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार पनि प्रमुखले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने छ । ‘जनप्रतिनिधिले सबैसँग मिजासिलो भएर काम गर्नुपर्ने हो । तर, उहाँको शैली त्यो खोलको छैन,’ उनले भनिन्, ‘मेयर सापले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने छ । नीति अनुसार चल्ने भन्दा पनि आफ्नै तौरतरकारीबाट अघि बढ्ने सोच छ उहाँको ।’
जनप्रतिनिधि र कर्मचारी बिच थप टसल बढ्ने डरले दुवै पक्ष यसबारेमा खुलेर बोल्न चाहँदैनन् । नगरप्रमुख पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत भुसाल दुवै नेपाली कांग्रेस निकट हुन् । उपमहानगरपालिकाबाट निस्किँदै गर्दा आफूले दिएको आर्थिक अख्तियारी प्रयोग नगर्न भनेका भुसालले यसबारे लिखित रूपमै जानकारी गराएका छन् । यसअघि ६ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका भुसाललाई धेरैले राम्रै कर्मचारी मान्दछन् ।

उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष कृष्णप्रसाद पौडेल घटेका घटनामा आरोप लगाउनु भन्दा नयाँ तरिकाबाट अघि बढ्नु पर्ने बताउँछन् । ‘बैठकमा मेयर सापलाई सोध्दा म बाट केही भएको होइन, काठमाडौँ पुगेपछि काठमाडौँ आइपुगे भनेर भन्नु भयो । भुसाललाई यो विषयमा बुझ्न फोन गरेको थिएँ । केही भन्न चाहनु भएन । दुवैले केही भन्नु भएको छैन,’ उनले भने, ‘जानुभन्दा अगाडी प्रमुख प्रशासकीय अधिकृतले बैठकमै कानुनी दायरा यो छ, मैले गर्न मिल्ने काम यो हो, मेयर सापले गर्न भनेको काम यो हो, यो विषयमा हामीबिच असहमति भयो भनेको भए । हामीले थाहा पाउँथ्यौँ र समस्याको समाधान पनि खोज्थ्यौँ होला । मेयर सापले पनि मैले यो गर्न भनेको कार्यकारीले मानेनन् भनेको भए हामीलाई जानकारी हुने थिए । समाधान खोज्ने थियौँ ।’

उपमहानगरपालिकामा सहसचिवको दरबन्दी छ । तर, उपसचिवहरूले नै मेसो मिलाएर प्रमुख प्रशासकीय अधिकृत पट्काउने गरेका छन् ।

सम्बधित समाचार : मेयरसँगको टसलपछि ४४ दिनमै हाकिमले छाडे बुटवल उपमहामगर, अनुचित दबाब दिएको आरोप

Tags :
प्रतिक्रिया दिनुहोस