माओवादी उपत्यका प्रदेशले पठायो भूकम्प पीडितलाई राहत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी उपत्यका प्रदेशले पठायो भूकम्प पीडितलाई राहत


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ । प्रदेश इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले गोङ्गबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन् ।

४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले जनाएको छ ।

यस्तै, सिरक, त्रिपाल र म्याट ४-४ सय थान तथा ४ सय क्विन्टल चामल समेत पठाउन लागिएको जनाइएको छ । महासङ्घका अनुसार बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष पुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

प्रभावितहरू नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत सङ्कलन र वितरण जारी राखिने महासङ्घको भनाई छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १०४ र रुकुमपश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन् । दुई सयभन्दा बढी घाइतेको जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, बाँके र काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ ।

भूकम्पका कारण झण्डै ८ हजार घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस