सङ्घीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सङ्घीय संसद् भवन निर्माण छिट्टै पूरा गर्न सभामुखको निर्देशन


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउण्ड सिष्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै उनले आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न सुझाव दिए । सभामुख घिमिरेले हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्‍याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई सुझाव दिए।

सहरी विकास मन्त्री सीता गुरुङले सङ्घीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिए । भवन र उपकरण जडानलाई द्रुततासँगै गुणस्तरको प्रश्नलाई पनि त्यतिकै हेक्कामा राख्न आवश्यक रहेको बताउँदै उनले भने, “हामीले काम चलाउभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने पाटोमा गम्भीर छौँ ।”

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेञ्चर’बीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार समयमै काम भएको भए यसअघि नै सो भवनमा सदन सञ्चालन भइसक्ने थियो । एक सय ५१ रोपनीमा ठुला साना गरी ११ वटा भवन निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटाको छानासम्मको काम भएको छ ।

आगामी हिउँदे अधिवेशनसम्ममा पाँच वटा भवन तयार हुने ठेकेदार कम्पनीले बताउँदै आएको छ । सञ्चार, साउण्डसिष्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एशियामै नयाँ उपकरण जडान हुने गरी सभाकक्षसहितको जिम्मेवारी पूरा गर्ने अठोट व्यक्त गरेको छ ।

आयोजना निर्देशक मच्चाकाजी महर्जनले छ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तथा सदनमा नवीनतम र गुणस्तरीय उपकरण जडानको काम अघि बढिरहेको बताए । परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अति विशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च रु. छ अर्ब ९२ करोड भए पनि रु. पाँच अर्ब दुई करोडमा सम्झौता भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा भवन निर्माण विनियोजन रु. तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने साना ठुला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुई वटा क्यान्टिन क्रमशः एक सय र तीन सय जना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस